प्रधानमन्त्री ओली भन्छन् सरकारले धेरै राम्रा काम गरेपनि त्यसको प्रचार भएन


 


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले पार्टी एकता ठुलो काम भएकोले केही अलमल भए जस्तो लागेको बताउनुभयो । “पार्टी एकता टुंगिएन भनेर अब निराश हुनु पर्दैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “असार भित्र सबै तहको एकता टुंगिन्छ र नयाँ आर्थिक बर्ष देखि सबैले नेता कार्यकर्ताले उत्साहपूर्वक काम गर्न थाल्नुहुनेछ । ”

प्रधानमन्त्री ओलीले दुई ठुला वामपन्थी दलको चुनावी तालमेल मार्फत राष्ट्रिय आत्मविश्वास जगाएको स्मरण गर्दै नेकपाले बहुमत ल्याएर देशलाई स्थिरता दिएको बताउनुभएको छ । सरकारले धेरै राम्रा काम गरेको तर त्यसको प्रचार नभएको बताउनुभएको छ । “यस बर्ष मात्र ४ सय वटा झोलुंगे पुल निर्माण भएका छन् । १ हजार किलोमिटर सडक कालोपत्रे गरिएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “काठमाडौंका सडक सफा भएका छन् । दशैंसम्म पुग्दा सरकारको आलोचना बन्द हुन्छ । ”

प्रधानमन्त्री ओलीले मदन भण्डारी बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभएको छ । मदन भण्डारीकै अगुवाइमा २०४६ सालमा नेपाली काँग्रेससँग मिलेर पञ्चायत विरुद्धको आन्दोलन सफल पारिएको प्रधानमन्त्री ओलीको भनाइ छ । “ कम्यूनिष्ट काँग्रेसलाई आपसमा भिडाएर कमजोर पार्ने राणनीतिलाई मदन भण्डारी र गणेशमान सिंहको सुझबुझले तोड्यो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कम्यूनिष्ट पार्टीको नेतृत्वमा मदन भण्डारी भएकै कारणले मात्र त्यो सम्भव भयो ।”अहिले नेपाल कम्यूनिष्ट पार्टी जहाँ पुगेको छ ,त्यसमा पुषपलाल र मदन भण्डारीको ठुलो योगदान रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारी राष्ट्रिय पुरस्कार –२०७६ प्रा.डा. सुबोध शर्मालाई प्रदान गर्नुभयो ।

प्रकाशित मिति: १४ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्