मालपोत कार्यालयमा आगलागी


 


कपिलवस्तु । मालपोत कार्यालय कपिलवस्तुमा आगलागी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आइतबार विहान आगलागी भएको हो । सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी भएको बताइएको छ ।

आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए । विहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको छ ।

आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्ण रुपमा जली नष्ट भएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्