सगरमाथा प्रतिष्ठानद्वारा मन्त्री राई लगायत सम्मानित



samman444

काठमाडौँ, २९ वैशाख । सगरमाथा प्रतिष्ठान नेपालले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, कलाकार कालु कुमाले, समाजसेवी सुमित्रा बस्नेत, पर्यटन व्यवसायी पुष्प थापा, रोशन भुसाललगायतलाई आज सम्मान गरेको छ ।

उक्त प्रतिष्ठानको १५ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई सम्मान गर्दै जनप्रतिनिधि र समावेशी प्रतिनिधित्वका आधारमा निर्माण गरिएको अहिलेको संविधान उत्कृष्ट रहेको र यसले मुलुकमा सामाजिक न्याय स्थापना गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले देशमा दिगो शान्ति र प्रगतिका लागि संविधानले ढोका खोलेको र यही संविधानका माध्यमबाट अब मुलुकमा सामाजिक रुपान्तरण तथा आर्थिक प्रगति सम्भव रहेको बताए।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले सम्पूर्ण राजनीतिक दलले मुलुकको यथार्थ धरातलमा उभिएर राष्ट्रियता बलियो बनाउन भूमिका निर्वाह गर्नुपर्ने संविधानले अङ्गीकार गरेको व्यवस्थालाई अवलम्बन गर्दै संविधान संशोधनको माध्यमबाट असन्तुष्ट समुदायको भावनालाई समेट्न सकिने बताए।

त्यसैगरी,सूचना तथा सञ्चारमन्त्री राईले जनताको बलिदानबाट प्राप्त भएको अहिलेको संविधानले लामो समयदेखिको सङ्क्रमणकाललाई अन्त्य गरेको बताउँदै अब संविधानको जगमा उभिएर राष्ट्र निर्माणको रुपरेखा कोर्नुपर्ने बताए ।

मुलुकमा हिमाल, पहाड र तराईको एकता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिँदै उनले देशको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रियताको रक्षा गर्ने प्रत्येक नेपालीको कर्तव्य भएको धारणा राखे ।

बुद्धिजीवी डा जयराज आचार्यले देश विकासका लागि राजनीतिक स्थिरताको खाँचो रहेको औँल्याउँदै मुलुकमा सङ्घीयताको वैज्ञानिक विभाजन हुन नसकेमा यसले सधैँ अस्थिरता ल्याउने धारणा राखे।

सगरमाथा प्रतिष्ठानका अध्यक्ष एनबी सुब्बाले समाजका विभिन्न क्षेत्रका अभियन्ताले देश विकासमा गरेको योगदानको सराहना गर्दै उनीहरुलाई आज सम्मान गरिएको बताए।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News