प्रचण्डले भने – प्रकाश दाहाल कम उमेरमै पूर्ण जीवन बिताउने कुशल योद्धा हुन्


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. प्रकाश दाहाल छोटो समयमा पूर्ण जीवन बिताएर जाने एक कुशल योद्धा र व्यवस्थापक भएको बताउनुभएको छ । प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रकाश एक असल सिपाही रहेको र एक होनाहार सिपाई गुमाउनुको पीडालाई शक्तिमा बदल्ने प्रयत्न भइरहेको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले राष्ट्र र जनताका लागि छोटो समयमा रचनात्मक काम गरेका प्रकाशको मृत्युले मुलुकलाई स्तब्ध पारेको बताउनुभयो । ३६ वर्षको छोटो उमेरमा निधन भएका प्रकाशले सोचेको सपनालाई मूर्त रुप दिन प्रतिष्ठान अग्रसर हुनुपर्ने दाहालको भनाइ थियो । ‘भूमिगत रुपमा विभिन्न स्कुलहरु परिवर्तन गरेर पढे । युद्ध हेर्ने, सिक्ने र आफैँ सहभागी हुने काम पनि गरे, ३६ वर्षको उमेर सम्ममा जीवनका तीता मीठा अनुभव गरे,’ दाहालले भावुक हुँदै भन्नुभयो, ‘एउटा पूरा जीवन हुन जसरी सबै काम गर्नुपर्छ, त्यो सबै अनुभव प्रकाशले पूरा गरेका छन् ।’

‘मैले शुरुमा प्रकाशले सगरमाथा आरोहण गर्छु भन्दा पत्याएको थिइन तर, उनको गर्छु भनेपछि गरिछाड्ने बानी थियो, उनले अरुलाई पनि उत्साह र प्रेरणा दिने गर्थे । उनका राम्रा गुण र पक्षलाई देश र जनताको लागि समर्पित गर्नुपर्छ,’ अध्यक्ष दाहालले भन्नुभयो ।’
‘सबै तीता–मीठा अनुभव प्रकाशले अनुभव गरे । राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि’, प्रचण्डले भावुक हुँदै आफु प्रधानमन्त्री हुँदा उनले गरेको सहयोग अविस्मरणीय भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश दाहाल भएको बताउनुभयो । ‘प्रकाश दाहालको जीवनका पाटाबारे सबैलाई थाहा नहुन सक्छ । प्रकाशले अनुपम काम गरेका थिए, कदर गर्नु आवश्यक छ,’ नेता नेपालले भन्नुभयो, ‘सगरमाथा चढेर सफलता हासिल कठिन काम थियो, योद्धालाई पनि साथमा लिएर सगरमाथा चढ्नु गाह्रो काम थियो ।’

नेता नेपालले भन्नुभयो, ‘प्रकाश दाहालको अभावमा प्रचण्डको दाहिने हात नै भाँचिएको जस्तो भएको छ । पार्टी सञ्चालनदेखि सरकार सञ्चालनमा पनि प्रकाशको अभाव भइरहेको भन्दै उहाँले प्रकाशमा बन्दुक चलाउन मात्रै नभई प्रविधिमा पनि अपडेट हुने खुबी रहेको औंल्याउनुभयो । उहाँले प्रकाशले सगरमाथामा नेपालको झण्डा पु–याएर नेपालको सान र मान राख्ने काम गरेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस नेता डा. प्रकाश शरण महतले प्रकाश दाहालले शान्ति प्रक्रियापछि विभिन्न राजनीतिक दल र तत्कालीन माओवादी केन्द्रबीच पुलको रुपमा काम गरेको सम्झनुभयो । उहाँले सानै उमेरमा निधन भएका प्रकाशले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु–याएको चर्चा गर्नुभयो ।

त्यस्तै राजपाका नेता महेन्द्र यादवले प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानकी संयोजक एवं खानेपानी मन्त्री बिना मगरले सगरमाथा चढ्दा जुनेली रातमा एउटा डोरीमा मृत्युसँग जुध्दै सगरमाथाको यात्रा तय गरेको स्मरण गर्नुभएको थियो । सगरमाथा आरोहणका क्रममा प्रकाश दाहालभित्र रहेको त्यो साहस र अठोट देखेर आफू प्रभावित भएको मन्त्री मगरले स्मरण गर्नुभयो ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्