अंक थपेर तीन विषयमा डिग्री दिएको त्रिविद्वारा स्वीकार
![](https://www.deshkonews.com/wp-content/uploads/2019/07/TU-Central-Office-Building-Kirtipur.jpg)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर, यो संस्थागत नभई व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीले तर्क गरेका छन् ।९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरेको छ । यसबारे अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलायो । बैठकमा त्रिवि रजिस्ट्रार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरे ।
रजिस्ट्रार उप्रेतीले बैठकमा भने, ‘९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर पास गर्ने त्रुटि भएको छ । तर, ती विद्यार्थीले गोल्डमेडल नै प्राप्त गरेको भन्नेमा सत्यता छैन । कोइरालाले समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री लिएका छन् । तर, प्रत्येक विषयमा पाँचदेखि ६० नम्बरसम्म थपेको पाइएको छ । कोइरालाले राजनीतिक शास्त्रमा पनि स्नातकोत्तर डिग्री लिएका छन् । त्यसमा भने उनले पाएको नम्बर मिलेको देखिएको रजिस्ट्रार उप्रेतीले जानकारी दिए ।
तीनवटा फ्याकल्टीअन्तर्गत झन्डै दर्जन विषयमा कोइरालाको नम्बर ‘म्यानिपुलेट’ भएको उप्रेती बताए । ‘अख्तियारले छानबिन गरिरहेकाले सबै विषय खोल्न मिल्दैन । तर, आन्तरिक रिपोर्टअनुसार इकोनोमिक्समा करिब ६ वटा विषयमा फेरबदल गरिएको छ । सोसोलोजी र रुलर डेभलपमेन्टअन्तर्गतका पनि दुई वा तीन विषयमा फेरबदल गरिएको छ । मैले त्यसका विषयचाहिँ भन्न मिल्दैन’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । उनले सबै विषयमा उस्तै प्रकारले नम्बर नथपिएको बरु विविध तरिका अपनाइएको बताए । उनले भने, ‘तीनवटै विषयमा त्यसैगरी नम्बर थपिएको होइन । एउटामा ५ लाई ५९ बनाइएको छ । अरू दुई विषयमा ५÷१०, ५÷१० नम्बर थपिएको देखिन्छ ।’
‘९ लाई ६९ नम्बर बनाउनु व्यक्तिगत त्रुटि’
रजिस्ट्रार उप्रेतीले ९ नम्बरमा ६० थपेर पास गर्ने त्रुटि संथागत नभइ व्यक्तिगत भएको प्रस्टीकरण दिएका छन् । ‘यो संस्थागत नभई व्यक्तिगत त्रुटि हो । यसलाई त्रुटि मात्रै नभएर एउटा दुर्घटना नै भन्न चाहन्छु’ उप्रेतीले भने, ‘त्रिविको साख जोगाउनका लागि यस्ता गलत कार्य रोक्न र आगामी दिनमा हुन नदिन अन्य विभागमा पनि यस्ता गलत कार्य भएका छन् कि भनेर अध्ययन गर्ने तयारी गरेका छौं ।’ समिति सदस्यहरूले भने यो प्रकरणले विगतमा पनि नम्बर थपेर पास गराउने र गोल्डमेडल दिने कार्य हुँदै आएका थिए भन्ने पुष्टि गरेको दाबी गरेका थिए । जवाफमा उनले यसबारे अध्ययन गर्न आन्तरिक रणनीति बनाएको बताए ।
रजिस्ट्रार उप्रेतीका अनुसार विद्यार्थीले परीक्षा दिइसकेपछि उत्तरपुस्तिकालाई एकीकृत गरेर सम्बन्धित परीक्षा केन्द्रले परीक्षा नियन्त्रण कार्यालयमा पठाउँछ । परीक्षा नियन्त्रण कार्यालयले प्रत्येक उत्तरपुस्तिकाको भित्री र बाहिरी पृष्ठको नम्बर मिले नमिलेको चेक गर्छ । ‘कसैले छुट्टै पानामा उत्तर लेखेर टाँसेको रहेछ भने बाहिर पृष्ठमा थपिएको कापीको नम्बर हुँदैन वा थपिएको नम्बर पनि नहुन सक्छ । यो हेर्न भित्री र बाहिरी पृष्ठको नम्बर चेक गर्ने गर्छाैं,’ उप्रेतीले भने । भित्री र बाहिरी पृष्ठको नम्बर नमिलेको अवस्थामा त्यसलाई रद्द गर्ने र मिलेकाको हकमा बाहिरी पृष्ठमा राखेर पुनः नम्बरिङ गरी जाँचका लागि शिक्षक कहाँ पठाइन्छ । कसको कापी कहाँ गएको छ भन्ने पनिकालाई थाहा हुने तर शिक्षकले कसको उत्तरपुस्तिका जाँच गरेको हो भनेर पत्ता लगाउन नसक्ने उनले बताए ।
शिक्षकले उत्तर पुस्तिका जाँच गरेर पठाएपछि पनिकाको समितिले केही नमुना लिएर उत्तरपुस्तिका जाँच मिले नमिलेको हेर्छ । यदि कुनै नमिलेको भेटिए सच्याइन्छ । यही सच्याउने बेला (नम्बर इन्ट्रीमा) ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बर दिइएको पाइएको रजिस्ट्रार उप्रेतीले बताए । ‘नम्बर इन्ट्री गर्ने बेला मानविकी संकायका गोप्य शाखाका प्रमुखले ९ नम्बर ल्याएका कोइरालालाई ६९ बनाइदिनुभएछ,’ उनले भनेका छन् ।
‘मार्कस्लिपमा ९ नम्बर मात्र’
समिति बैठकमा रजिस्टार उप्रेतीले मार्कस्लिपमा ९ नम्बर नै रहेको (प्रिन्ट पेपर) समिति बैठकमा देखाएका थिए । ‘मार्कस्लिपमा ९ नम्बर नै छ । तर, पछि ६९ बनाइएको रहेछ’, उप्रेतीले पेपर देखाउँदै भने । कोइरालालाई २०७२÷७३ को वार्षिक परीक्षाको नतिजामा एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्कसिट र ट्रान्सक्रिप्ट दिएका हुन् । नम्बर थपिदिएको आरोपमा गोप्य शाखाका अधिकृत रामु कर्माचार्य पक्राउ परिसकेका छन् ।
यसअघि पनि कर्मचारीहरूकै संलग्नतामा फेल भएकालाई बढी नम्बर चढाएर पास गराउने र कम नम्बर ल्याएकालाई नम्बर थप गरेर बढी बनाइदिने गरिएको आंशकामा अख्तियारले पनि छानबिन जारी राखेको जनाएको छ । आफूहरुले नै आन्तरिक रूपमा नम्बर थपिदिनेलगायतका गलत कार्यका सन्दर्भमा प्रतिवेदन बनाएर अख्तियारमा बुझाइएको रजिस्ट्रार उप्रेतीले जानकारी दिए । नम्बर थपेर प्रमाणपत्र जारी भएको विषयमा छानबिन गर्न पनिकाले पनि प्राध्यापक अनुपकुमार श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
सुरेन्द्रलाई ६० नम्बर थपेर ६९ बनाएर मार्कसिट दिएको विषय आफूहरूले गत चैतमा थाहा पाएको रजिस्ट्रार उप्रेतीले बताए । त्यसपछि नै आफूहरूले आन्तरिक रूपमा अध्ययन गरिरहेको र अहिले यो विषय बाहिर आएको उनको भनाइ थियो । नम्बर थपेर डिग्री हात पार्ने कोइराला भने पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी हुन् ।
प्रकाशित मिति: १८ असार २०७६, बुधबार