इटहरी उपमहानगरका वडाध्यक्षसहित जुवा खेलिरहेका पाँच पक्राउ


 


इटहरी उपमहानगरपालिका-१५ का वडाध्यक्ष श्रवणकुमार चाैधरीसहित पाँचजना जुवाडे पक्राउ परेका छन् । दुहवी नगरपालिका-१२ स्थित गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचना पाएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खालबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४४ वर्षीय वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका-६ का ४० बर्षीय रुपेश कुमार तामाङ, ग्रामथान-५ का ४० बर्षीय लाल बहादुर चौधरी, गढी गाउँपालिका-३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कौडा १६ थान, गलैंचा एक थान, कालो कपडा एक थान र नगद दुई लाख ८५ हजार एक सय १४ रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका पाँचैजनालाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकताविरुद्धको कसुर अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

प्रकाशित मिति: १८ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्