पत्रकार महासंघ प्रदेश १ को महिला पत्रकार भेला ( नौबुद्धे पाख्रीवास घोषणा पत्रसहित)


 


धनकुटा। धनकुटाको पाख्रिबासमा सम्पन्न महिला पत्रकारहरुको भेलाले ९ बुँदे पाख्रिबास घोषणा पत्र जारी गर्दै सञ्चारविरोधी विधेयक तथा कानुन तत्काल फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघ–१ नम्बर प्रदेश समितिको आयोजनामा सम्पन्न भेलाले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि र विज्ञापन सम्बन्धि नीति लगायतका प्रेस स्वतन्त्रता विरोधी विधेयक तथा कानून फिर्ता लिएर सञ्चारमैत्री कानून निर्माण गर्न सरकारसँग माग गरेको हो ।

घोषणापत्रमार्फत महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई बजेटको निश्चित प्रतिशत रकम छुट्याउन माग गर्दै भेलाले समान सहभागिताको सुनिश्चितता र पेशागत सुरक्षाका लागि श्रमजीवी ऐन कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ ।

पत्रकारिताका विषयवस्तु र लैङ्गिक समावेशिताका लागि सबै वर्ग, क्षेत्रको समानुपातिक सहभागिता बृद्धि गर्न, सञ्चार संस्थाको विकासका लागि सरकारका तीनै तहबाट समानुपातिक विज्ञापन वितरण, महिला पत्रकारद्वारा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई विशेष सुविधा उपलब्ध गराउन घोषणा पत्रमा माग गरिएको अध्यक्ष बिक्रम लुईटेलले जानकारी दिए ।

नेपाल पत्रकार महासंघमा हाल कायम समावेशी कोटा यथावत राख्दै तीनै तह (केन्द्र, प्रदेश समिति र जिल्ला शाखा)मा अध्यक्ष, महासचिव र सचिवमध्ये एउटा कार्यकारी पद महिलाका लागि सुनिश्चित गर्न, कार्यसमितिमा ३३ प्रतिशत पत्रकार महिलाको सहभागिता अनिवार्य गर्न, सञ्चार माध्यमभित्र हुने लैङ्गिक हिंसा अन्त्य गर्न, महिलालाई गर्भवती, सुत्केरी आदि विशेष अवस्थामा विदा, उपदान लगायतको ब्यवस्था गर्न सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

अधिवेशन लक्षित गरी राजनीतिक भागवण्डाका आधारमा सदस्यता वितरण वन्द गर्न माग गर्दै घोषणापत्रमा पर्यटकीय क्षेत्र पाख्रिबास र कृषि उपजको प्रवद्र्धनमा प्रतिबद्धता पनि जनाइएको छ ।

रेजिना गौतमको संयोजकत्वमा इन्दिरा भट्टराई, भिमा शिवाकोटी, सुभद्रा प्याकुरेल, विनुमाया राई र इन्दु पूर्वेली सदस्य रहेको प्रतिवेदन तयारी समितिले तयार पारेको घोषणा पत्र सर्वसम्मत पारित भएको हो ।

अग्रज पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ ले प्रादेशिक महिला भेलामा तीन अग्रज महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा झापाकी इन्दू पूर्वेली, मोरङकी ललित भट्टराई र सुनसरीकी गंगा बराल रहेका छन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि तथा प्रतिनिधिसभाकी उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फे र विशेष अतिथि सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले दोसला र सम्मान पत्रले सम्मान गरेका थिए ।

१४ जिल्लाका एक सय बढी महिला पत्रकार सहभागी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख डा। तुम्बाहाम्फेले पत्रकार र महिलाहरुका मुद्दा समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा सूचना आयोगका सदस्य यसोदा तिम्सिनाले सूचनाको हकभित्र भ्रष्टाचार नियन्त्रणको शक्ति हुने बताउँदै सूचनाको हक अन्तर्गत रहेर तत्काल सूचना प्रवाह गर्न सार्वजनिक जिम्मेवारी वहन गर्नेहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपूल पोखरेल, नगरपालिकाकी उपमेयर देवकला तिम्सिना, धनकुटाका प्रमुख जिल्ला अधिकारी, केन्द्रीय सदस्यहरु उद्वव तिम्सिना, सटेन्द्र जवेगु, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजयसन्तोषी राई, सामुदायिक रेडियो प्रशारण ९वान० का केन्द्रीय सदस्य रेणु पराजुली, पाख्रिबास, इन्दिरा भट्टराई, गंगा बराललगायतले शुभकामना मन्तब्य गरेका थिए ।

नेपाल पत्रकार महासंघ १ नं प्रदेश अध्यक्ष विक्रम लुइटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत धनकुटा शाखा अध्यक्ष राजेश्वरप्रसाद श्रेष्ठ र सञ्चालन महासचिव विवेक गौतमले गरेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सचिव लक्ष्मी पुनः को प्रमुख आतिथ्य र स्मिता निरौलाको अध्यक्षतामा सम्पन्न बन्द सत्रमा पत्रकारद्वय निलिफा राई र विद्या राईले प्रदेश नं–१ मा महिला पत्रकारहरुको अवस्था समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । बन्द सत्रको सञ्चालन कोषाध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् ।

हेर्नुहोस् नौबुद्धे पाख्रीवास घोषणा पत्र :

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले २०७६ असार १६ र १७ गते धनकुटाको पाख्रिवास नगरपालिका स्थित कृषि अनुसन्धान केन्द्रमा आयोजना गरेको प्रदेश स्तरिय अगुवा पत्रकार महिला भेलाले जारी गरेको
पाख्रिबास घोषणा पत्र–२०७६

१) प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि,विज्ञापन सम्बन्धि नीति लगायत प्रेस स्वतन्त्रता विरोधी विधेयक तथा कानून तत्काल फिर्ता लिएर प्रेस स्वतन्त्रताको विश्वब्यापी मूल्यमान्यता र लोकतान्त्रिक विधिको सम्मान गर्न यो भेला सरकारसंग जोडदार माग गर्दछ ।

२) महिला पत्रकारहरुको क्षतमा अभिबृद्धिका लागि स्थानीय,प्रदेश र संघीय सरकारलाई बजेटको निश्चित प्रतिशत रकम छुट्याउन माग गर्दै समान सहभागीताको सुनिश्चितता, पेशागत सुरक्षा र श्रमजीवी ऐन कार्यान्वनयका लागि यो भेला सरोकारवालाको ध्यानाकर्षण गराउँछ ।

३) पत्रकारितामा विषयवस्तु र लैङ्गिक समावेशीताका लागि सवै वर्ग, क्षेत्रको समानुपातिक सहभागिता वृद्धि गर्न यो भेला सञ्चारमाध्यमसँग जोडदार माग गर्दछ ।

४)श्रमजीवी ऐन कार्यान्वयनका लागि सञ्चार संस्थालाई वलियो बनाउने नीति अवलम्बन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै सञ्चारमैत्री कानून निर्माण र समानुपातिक विज्ञापन वितरणको नीति अवलम्बन गर्न यो भेला माग गर्दछ ।

५) पत्रकार महिलाहरुको नेतृत्वमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमलाई विशेष सुविधा उपलब्ध गराई ब्यवसायिक बनाउन यो भेला जोडदार माग गर्दछ ।

६) नेपाल पत्रकार महासंघका सवै संरचनामा हाल कायम समावेशी कोटा यथावत राख्दै मुख्य पदहरु अध्यक्ष, महासचिव वा सचिवमध्ये एक पद महिलाका लागि सुनिश्चित गर्दै कार्यसमितिमा ३३ प्रतिशत सहभागिता अनिवार्य गर्न यो भेला माग गर्दछ ।

७) सञ्चार संस्थाभित्र मुख्य गरी पत्रकार महिलामाथि लिङ्गकै आधारमा हुने शारीरिक वा मानसिक हिंसा तत्काल अन्त्य गर्न यो भेला जोडदार माग गर्दछ । साथै महिलाहरुलाई विशेष परिस्थिति (गर्भवति, सुत्केरी वा अन्य) मा विदा, उपदान लगायतका विशेष ब्यवस्थापन गर्न महिला मैत्री नीति निर्माण र कार्यान्वयन गर्न यो भेला सञ्चार संस्थाको ध्यानाकर्षण गराउँछ ।

८) अधिवेशनलाई लक्षित गरी राजनीतिक भागवण्डाका आधारमा पत्रकार महासंघमा सदस्यता वितरण गर्ने प्रचलनको अन्त्य गर्न यो भेला नेपाल पत्रकार महासंघसँग जोडदार माग गर्दछ । अधिवेशन आयोजना हुनुभन्दा ६ महिना अगावै सदस्यता वितरण गरिसक्न पनि यो भेला ध्यानाकर्षण गराउँछ ।

९)पर्यटकीय क्षेत्रको रुपमा स्थापित पाख्रिवास कृषि अनुसन्धान केन्द्रको प्रचार प्रसार र कृषि उपजको विकास र प्रवद्र्धन गर्न यो भेला प्रतिबद्धता ब्यक्त गर्दछ । साथै प्रदेशका पत्रकार महिलाहरुको भेला गराउन आतिथ्यताको भूमिका निर्वाह गर्ने नेपाल पत्रकार महासंघ धनकुटा शाखा र पाख्रिबास नगरपालिका, पाख्रिवास कृषि अनुसन्धान केन्द्रसहित स्थानीय संघसंस्था तथा सहयोगी सबैमा यो भेला धन्यवाद ज्ञापन गर्दछ ।

घोषणा पत्र तयार पार्ने समितिको नामावली
संयोजक— रेजिना गौतम
सदस्य — इन्दिरा भट्टराई
सदस्य — भिमा शिवाकोटी
सदस्य — सुभद्रा प्याकुरेल
सदस्य — विनुमाया राई

प्रकाशित मिति: १९ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्