साईंली कमिनीको देश


 


kaminiकविता

अनिल श्रेष्ठ

ज्यूगरें हजुर
म आँबुल्नी
आँबु गाउँकी साईंली कमिनी
सकिबक्सन्छ भने
म यो निर्धालाई
अलिकति दया गरी बक्सियोस्
हजुर
तपाईंको ऊ त्यो तखताबाट
जिउ तङ्ग्र्याउने
मलाई अलिकति ओखतीको झोल पाए
म यो बूढी आइमाई
हजुरको गुन कहिल्यै बिर्सने थिइनँ
ओखतीले बाँच्न पाए
अरु बाँच्ने थिएँ कि जीवन
अरु देख्न सक्थें कि दुनियाँ
कस्तो हुन्छ लोकतन्त्र ?
कस्तो हुन्छ गणतन्त्र ?
देख्न सक्ने थिएँ हुँला
जीवनको रङ त उस्तै हो, के फर्कला र !
यी नातिनातिनाको आँखामा खेलेका
खुशीहरु त देख्न सक्ने थिएँ
मलाई यिनीहरुको ओठले हाँसेको हेर्न
अचम्म रहर छ
धेरै भयो, खोकी चलेको छ
छाती असाध्यै दुख्छ
सास एकोहोरो फुल्छ
मुटु फुट्लाझैं जोडजोडले हल्लिन्छ जिउ
बूढो भएपछि,
उमेरजस्तो यो जिउ कहाँ हुँदो रैछ र ?
खोक्दाखाक्दै घुप्लक्क लडेपछि
खै ! यो जीवन यत्तिकै रैछ झैं लाग्छ
जाँचेको कुन्नि कति पैसा लाग्छ ?
डाक्टर नानी, मसँग हजुरलाई दिने पैसा छैन
मैले इमान ढाँटेर
तपार्इंलाई झुटो बोलेकी हैन
पत्याउनुहुन्न भने मेरो यो रित्तो पटुकी छ
यो जाडोमा यी नातीनातिनालाई
एककप तातो चिया खुवाउन पाए पनि
कति जाती हुन्थ्यो
यी केटाकेटीको ओंठहरुबाट
थर्थराएको जाडोले म बूढीको मन दुख्छ
यस्तै जाडोको एकदिन
जुलुसमा हिँड्दाहिँड्दै
यिनीहरुका बाउआमाको ज्यान गयो
ऊ त्यो भित्तामा टाँगेका फोटाहरुमध्ये
दुई जना यिनीहरुकै बाउआमाहरु हुन्
सहिद भए भन्छन्
दुवै जना गिट्टी कुट्ने काम गर्थे हजुर
कहिले बालुवा चाल्थे
कहिले ईंट्टा भर्थे
मेरो निधारको थाप्लोमा
यी नानीहरुको नाम्लो छाडेर
यिनेरुका बाउआमाहरु मभन्दा अघि भए
म बूढी लाचार भएर यी टुहुराहरु
डोर्‍याउँदै छु
हजुर, कस्तो हुन्छ लोकतन्त्र ?
म बूढीलाई लोकतन्त्रमा यी टुहुराहरु
हाँसेको हेर्न असाध्यै रहर छ ।

इसमताबाट

प्रकाशित मिति: १५ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्