खानेपानीमन्त्री मगरको दाबी– ‘एक घर एक धारा’


 


काठमाडौं, असार २०

खानेपानीमन्त्री बीना मगरले तराई/मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई काम तीब्र रुपमा अगाडि बढेको बताउँदै दोस्रो चरणको मेलम्ची खानेपानी आयोजनाको काम पनि जारी नै रहेको छ, ढुक्क हुनुहोस् अब मेलम्चीको पानी उपत्यका आउँछ भन्नुभयो ।

पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाका बाँकी काम निर्धारित समयमै सम्पन्न हुनेमा मन्त्रालय आशावादी रहेको उहाँले जानकारी दिनुभयो । मन्त्री मगरले संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले यसै अनुरुप सबै जनतालाई खानेपानी र सरसफाइको पहुँच पुर्याउन आफ्ना नीति र कार्यक्रम केन्द्रित गरेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्