‘याेगमायाकाे याेगदानलाई भु्ल्नु हुँदैन’


 


काठमाडाैं, जेठ २

समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुभएकी सङ्घर्षशील नारी योगमाया न्यौपानेको योगदानलाई भुल्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । युनिभर्सल ल्याङग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटले आज यहाँ आयोजना गरेको ‘योगमायाको नेपाली समाजमा योगदान’ विषयक अन्तरक्रियाका वक्ताले तत्कालीन राणा शासनका बेला सतीप्रथा उन्मुलन तथा जातीय छूवाछूतविरुद्धको अभियानमा सक्रिय योगमायाको योगदानलाई सामाजिक चेतना अभिवृद्धिमा प्रयोग गरिनुपर्ने खाँचो औँल्याए ।

प्राध्यापक गोविन्दमान सिंह कार्कीले समाज र देश परिवर्तनका लागि योगमायाले पु¥याएको योगदानलाई राष्ट्रले भूल्न नहुने बताउनुभयो । योगमायाबारे विद्यावारिधि गर्नुभएका डा दिपेश न्यौपानेले समाज सुधारक तथा चिन्तन, चेतना र चामत्कारिक क्षमताकी खानी योगमायाको सत्याग्रह तथा साधनालाई आधुनिक समाजले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

समालोचक निनु चापागाईंले योगमायाले राणा शासनकालमा जातिप्रथा, छूवाछूत, बालविवाह उन्मूलन र विधुवा विवाहको समर्थनमा पु¥याएको योगदानलाई जीवन्त तुल्याउन उहाँकाबारे थप अनुसन्धान गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

योगमायाबारे पुस्तक लेख्नुभएकी कविता चापागाईंले योगमायाको समाज परिवर्तन र लोककल्याणकारी राज्यप्रतिको सपना साकार पार्न अहिलेका पुस्ता अग्रसर हुनुपर्ने बताउनुभयो ।

योगमायाबारे अनुसन्धान गर्नुभएकी अमेरिकी मानवशास्त्री बारबरा अचिजले योगमायाको समाज परिवर्तनप्रतिको योगदानलाई विश्वभर फैलाउन आफू लागिपरेको बताउनुभयो ।

कार्यक्रममा युनिभर्सल ल्याङ्ग्वेज सेन्टरका प्रिन्सिपल उत्तमप्रसाद पन्तले योगमायाले समाज परिवर्तनका लागि गरेका विविध क्रियाकलापबारे सचित्र वर्णन गर्नुभएको थियो । विसं १९२४ मा भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी न्यौपाने धार्मिक, दार्शनिक र प्रगतिशील नारी हुनुहुन्थ्यो ।

न्यौपानेको सामाजिक अभियानलाई दबाउन राणा शासनले उहाँलाई पक्राउ गरी विभिन्न यातना दिएको थियो । उहाँले २२ वर्ष साधना गर्नुभएको थियो । राणा शासनकालमा चन्द्रशमशेरदेखि जुद्धशमशेरका पालासम्म न्यौपानेले सतीप्रथा उन्मुलनका लागि विशेष सङ्घर्ष गर्नुभएको थियो ।

आफ्नो लामो सङ्घर्षको सुनुवाइ हुनुको साटो पक्राउ गर्न खोजेपछि विसं १९९८ असार २२ गते उहाँले अरुण नदीमा हाम फालेर जलसमाधी लिनुभएको थियो । उहाँसँगै ६८ समर्थक (१६ पुरुष र अरु सबै महिला) ले पनि नदीमा हामफालेर जलसमाधी लिएका थिए ।

प्रकाशित मिति: २ जेष्ठ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्