पूर्वाञ्चल विश्व विद्यालयमा तोडफोड र तालाबन्दी


 


विराटनगर, असार २२

पूर्वाञ्चल विश्व विद्यालय विरुद्ध पाँच विद्यार्थी संगठनले आइतबारबाट आन्दोलन सुरु गरेका छन् ।  अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा आन्दोलन थालेका हुन् । विद्यार्थीहरुले आइतबार विश्व विद्यालयको विराटनगरस्थित केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् ।

विभिन्न संगठन आवद्ध विद्यार्थीले विराटनगर–१ पुष्पलाल चोकमा रहेको विश्व विद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका समयमा उपकुलपति घनश्याम लाल दास र रजिष्ट्रार प्रमिला थापा भने थिएनन् ।

विराटनगर–३ बरगाछीमा रहेको पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगको कार्यालयमा पनि तालाबन्दी गरिएको छ । तालाबन्दी अघि विद्यार्थीहरु तोडफोडमा उत्रिएका थिए । दुवै ठाउँमा गरिएको तोडफोडबाट कार्यालयको कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सी, नेम प्लेट समेतमा क्षति पुगेको छ । विश्व विद्यालयले गरेको विज्ञापन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामहरुलाई तत्काल स्थगन गर्दै छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ चैत ५ गते राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिले दिएको सुझावलाई बेवास्था गर्दै असार २० गते शुक्रबार परीक्षा सम्बन्धी कार्यक्रम प्रकासित गरिएपछि विद्यार्थी आन्दोलित बनेको अनेरास्ववियुका मोरङ अध्यक्ष गोकर्ण घिमिरेले बताए । उनका अनुसार निश्चित व्यक्तिलाई सेवा प्रवेश गराउने उदेश्य राखेर गरिएको विज्ञापन खारेज गरेर नयाँ प्रक्रियाबाट मात्र विज्ञापन गर्नु पर्ने माग राखे पनि बेवास्था गरिएको छ ।

अनेरास्ववियुका नेता भास्कर खनालले हाल विवादमा रहेको र प्रक्रिया विपरित गरिएको सहायक प्राध्यापक, उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक गरेर ७२ जनाका लागि खुल्ला गरिएको आवेदन र छनोट प्रक्रिया खारेज नभएसम्म आन्दोलन जारी रहने र तालाबन्दी नखुल्ने बताए । यस विषयमा गत शुक्रबार ध्यानआकर्षण गरिए पनि बेवास्था गरिएपछि आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्