बूढीगंगा नदी थुनिने जोखिम, सेना र प्रहरी तयारी अवस्थामा



बाजुरा, असार २३

बाजुराको ठूलो नदी बूढीगंगा थुनिने सम्भावना छ । बूढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो ।

१० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताए । वर्षा भइरहेका कारण पहिरो नियमित बग्न थालेको छ ।

नदी थुनिनसक्ने भएकाले गृह मन्त्रालयमा यसबारे जानकारी दिइसकिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । उक्त नगरपालिकाको पहाडबाट खसेको पहिरोले पानीको बहाबलाई रोकेर बूढीगंगा नगरपालिकाको पहाडको छेउबाट पानी बग्न थालेकाले विस्तारै पानी थुनिने सम्भावना देखिएको उनको भनाइ थियो ।

हामीले सबैतिर खबर गरेका छौं, संघीय सरकारले पूर्वसूचना प्रणाली राख्न र दिगो व्यवस्थापनका लागि केही पहल सुरु गरेको प्रजिअ न्यौपानेले जानकारी दिए । उनका अनुसार तत्कालका लागि भने सचेत हुन सूचना गर्नुबाहेक अरु प्रक्रिया अघि बढाउन सकिएको छैन ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले नदी नियन्त्रण तथा व्यवस्थापनका लागि एक करोड बजेट विनियोजन गरेको थियो । नदी थुनिएसँगै साँफे मार्तडी सडकखण्ड पूर्णरुपमा क्षति हुने अनुमान यहाँका बासिन्दाले गरेका छन् ।

पहिरोले पैंमाको बस्तीसमेत जोखिममा पारेको छ भने नदी थुनिएमा बूढीगंगा नगरपालिका–१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने स्थानीयवासी नवराज पाध्यायले बताए । नदी बग्ने बाटो साँघुरिँदै गएको र जतिबेला पनि नदी थुनिन सक्ने भएकाले सेना र प्रहरीलाई तयारीमा अवस्थामा राख्नका साथै स्थानीयवासीलाई समेत सचेत गराइएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News