भारी वर्षापछि प्रदेश १ का किसान उत्साहित


 


सुनसरी, असार २४

प्रदेश नम्बर १ मा वर्षा भएपछि किसानहरुमा खुशी छाएको छ । पहाडी जिल्ला तेह्रथुम, पाँचथर, धनकुटाका तमोर करिडोरमा खडेरीले सुख्खा बनाएको ठाउँमा पनि पानी परेपछि किसानहरु उत्साहित भएका छन् ।

तेह्रथुमको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाका अनुसार सोमबारदेखि पानी परेको हो । तर, खडेरीग्रस्त क्षेत्रका शतप्रतिशत मकै खेती काम नलाग्ने भएको छ । धान खेतीका लागि भने वर्षाले केही काम गरेको अध्यक्ष तिगेलाले बताए ।

मनसुनी न्युन चापीय रेखा नेपालतिर सरेकाले मनसुन सक्रिय भएको मौसमविदहरुले बताएका छन् । सोमबारदेखि प्रदेश नम्बर १ का अधिकांश क्षेत्रमा पानी परिरहेको छ ।

निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सोमबार राति सप्तकोशी नदीको बहाव ९७ हजार ७७५ प्रतिसेकेण्ड क्युसेक मापन गरिएको थियो । तर, मंगलबार बिहानको मापनअनुसार फेरि पानीको बहाव घटेको छ । विहान ९६ हजार ९१० प्रतिसेकेण्ड क्युसेक पानीको वहाव रहेको कोशीव्यारेज कन्ट्रोलरुमले जनाएको छ ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्