नेकपामा पुरानालाई नै जिल्ला इन्चार्ज बनाउने सहमती


 


काठमाडौं, असार २४

लामो समयको छलफल र विवादपछि नेकपाले जिल्ला इन्चार्जमा सहमति जुटाएको छ । सोमबार विहान शीर्ष तीन नेताबीच पुरानै जिल्ला इन्चार्जलाई निरन्तरता दिनेगरी सहमति जुटेको स्रोतले बताएको छ । सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा बरिष्ठ नेता माधव नेपालबीच भएको दुई घण्टा लामो छलफलपछि जिल्ला इन्चार्ज पूरानैलाई बनाउने समझदारी जुटेको हो ।

सहमति अनुसार ७७ जिल्लाका इन्चार्जमध्ये पूर्व एमालेबाट ६० प्रतिशत र पूर्व माओवादीबाट ४० प्रतिशतमा इन्चार्ज लिने भएका छन् । दुई पार्टी एकताअघि साविकको पार्टीबाट जिल्ला इन्चार्ज रहेकाहरूलाई नै निरन्तरता दिने समझदारी बनेको एक सचिवालय सदस्यले बताए । पूर्व एमालेले ४४ र पूर्वमाओवादीले ३३ जिल्लाको इन्चार्ज पाउनेछन् ।

तीन नेताबीच जिल्ला इन्चार्जमा सहमति भएपछि नेकपा बरिष्ठ नेता माधव नेपाल श्रीलंका भ्रमणमा गएका छन् । नेपाल २९ असारमा स्वदेश फर्किदै छन् । स्वदेश फर्केपछि जिल्ला इन्चार्जको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ । जिल्ला इन्चार्जको नाम तय गर्न ३० असारमा सचिवालय बैठक बोलाइएको छ । यो समझदारी अनुसार संघ र प्रदेशमा रहेका मन्त्रीहरु पनि जिल्ला इन्चार्ज तोकिनेछन् । एक ब्यक्ति एक पदमा जाने निर्णय नेकपाभित्र पूर्णतया कार्यान्वयन हुन सकेन ।

जिल्ला इन्चार्ज तोक्ने बिषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद देखिएको थियो । नेपालले एक ब्यक्ति एक पदको कुरा उठाएका थिए भने ओली त्यो मान्न तयार थिएनन् । दुवै नेता अडानबाट पछि हट्दै पुरानैलाई जिल्ला इन्चार्ज बनाउने सहमति गरेका छन् ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्