प्रधानमन्त्रीले २३ मन्त्री र २४ सचिवलाई किन आकस्मिक बोलाए ?


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा विहान ११ बजेदेखि २३ मन्त्रीसहित सचिवलाई राखेर प्रधानमन्त्री ओलीले छलफल गरिरहेका छन् । बैठकमा २३ मन्त्री र २४ सचिवको उपस्थिति रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले बोलाएको आकस्मिक बैठकमा सचिवहरुले मन्त्रालयको प्रगति विवरण पेश गर्ने भएका छन् । सचिवहरुले पेश गरेको प्रगति प्रतिवेदनका आधारमा प्रधानमन्त्री ओलीले मन्त्रीको कार्यक्षमता जाँच्नेछन् । २४ वटै मन्त्रालयका सचिवहरुले पालोपालो गरेर आफ्नो प्रगति प्रतिवेदन पेश गर्नेछन् ।

सरकारको अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँग जोडेर मन्त्रालयको प्रगति कति भयो भन्ने निष्कर्षमा पुग्न प्रधानमन्त्री कार्यालयले मन्त्री तथा सचिवहरुलाई राखेर प्रगति समीक्षा बैठक राखेको हो। ‘२४ वटै प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्रीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिने कार्यक्रम छ’, प्रधानमन्त्रीको नीजि सचिवालयका एक सदस्यले बताए ।

मन्त्रीहरुको प्रगती हेरेपछि प्रधानमन्त्री ओलीले सरकार पुर्नगठन गर्ने तयारी गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार हेरफेरका लागि ओलीलाई निरन्तर दिइरहेका छन् । प्रगती विवरण हेरेपछि ओलीले सरकार हेरफेर गर्ने स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २६ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्