विप्लवका मेची–कोशी ब्यूरो इन्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेकपामा प्रवेश पछी प्रचण्डले के भने ?


 


ललितपुर– विप्लव समूहका मेची–कोशी ब्यूरो सदस्य तथा झापा जिल्ला इन्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताए ।

अध्यक्ष प्रचण्डले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समूहहरु एक जुट भई यो महान् उद्देश्य पुर गर्न लाग्नुपर्ने बताए । उनले भने, ‘कम्युनिष्ट पार्टीको झण्डामुनि रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ । हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।’ जो जहाँ ब्यूँझियो त्यहिँबाट उठेर हिँड्ने हो, सबै ब्यूँझाउँछु भन्न थाल्दा सम्भव नहुने उनको भनाई थियो ।

उनले भने, ‘हामीले विशाल पार्टीको आधार तयार गरिएको छ, यहाँ सबै अट्छन् ।’ अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका बरिष्ठ नेताहरुलाई पनि नेकपामा आउन आव्हान गर्नुहुँदै उहाँहरुको योगदानको कदर नेकपामा हुने बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आएका मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यले आफूहरुले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने कुरा आफूहरुलाई नलागेको बताए । उनले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूहरुलाई दिएको सुझावका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताए ।

प्रकाशित मिति: २६ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्