बाढीपहिरो र डुबानमा परी १ नम्बर प्रदेशमा ५ जनाको मृत्यु
विराटनगर, असार २८
चार दिनदेखि लगातार आएको वर्षाका कारण बाढीपहिरो र डुबानमा परी १ नम्बर प्रदेशमा ५ जनाको मृत्यु भएको छ। प्राकृतिक विपद्मा परेर ५ जना बेपत्ता भएका छन् ।
बाढीकै कारण कोसी राजमार्ग अन्तर्गत सुनसरी र मोरङ जोड्ने दुहबी नगरपालिकाको पुल जोखिममा परेको छ। दुहबी ग्रिडबाट पूर्व लैजाने १ सय ३२ केभिए प्रसारण लाइनको टावर लोहन्द्रा खोलाको बाढीले जमिन कटान गर्दा ढल्ने अवस्थामा पुगेको छ ।
बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ६६ वर्षीय जगत बहादुर राई, ट्याम्के मैयुँका जनक विक, सुनसरी इटहरीको सकुमारी खोलाले बगाउँदा सोही स्थानका सागर थापाको मृत्यु भएको छ। यस्तै पहिचान नखुलेका २५/२६ वर्षको जस्तो देखिने १ युवाको शव कानेपोखरी २ स्थित गेरुवा खोलाले बगाएको अवस्थामा फेला परेको छ । यस्तै ओखलढुंगा चिसंखुगढी ४ बस्ने वर्ष ८५ की पासाङकुटी शेर्पालाई लसुने खोलाले बगाएर ल्याएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।
यस्तै खोटाङ खोटेहाङ गाउँपालिका–२ का एकै परिवारका तीन जना पहिरोमा पुरिएका छन् । पहिरोमा पुरिनेमा २८ वर्षीया रेखा राई, उनको ४ वर्षीय छोरा रोमन राई र ७ महिनाका छोरा रोहन राई रहेका छन् । पहिरोमा परेका विष्णुकमार राईलाई भने सकुसल उद्धार गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले जानकारी दिए ।
वेपत्ता हुनेहरुमा इलाम चुलाचुली–१ का अञ्चल लावती बागडोर खोलाले बगाएर वेपत्ता भएका छन् भने पाँचथर मिक्लाजुङ–४ का ९ वर्षीया दिवन राई नुहा खोलाले बगाएर वेपत्ता भएका छन् । शुक्रबार स्कुलबाट फर्किने क्रममा उनलाई खोलाले बगाएको हो । उनको खोजी कार्य जारी रहेको दाहालले जानकारी दिए ।
प्रकाशित मिति: २८ असार २०७६, शनिबार