उदयपुरमा तीन हजार घर डुब्यो, पहाड खसेर बैद्यनाथ खोला थुनियाे


 


ईश्वर तामाङ उदयपुर  उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेसी मुनि धप्पर तिनटाटने डाँडा खसेर बैद्यनाथ खोला थुनिदा आधा दर्जन बस्ती उच्च जोमिमा परेको छ । मध्यान्न २ बजेतिर खसेको पहिरोले गर्दा बैद्यनाथ खोला पुरै थुनिदा खोलाको माथिल्लो भाग र तल्लो क्षेत्रमा खतरा बढेको छ । खोला थुनिको तल्लो क्षेत्रमा पर्ने सोमवारे, गोहिया, बक्पति, रिक्कु उच्च जोखिममा परेको छ ।

माथिबाट पहिरो जादा पहाड खसेर बैद्यनाथ खोला थुनिएकोले उदयपुरको नेपालटार बजार डुबानमा पर्ने खतरा बढेकोले उद्धारका लागि जिल्ला सुरक्षा समितिको आपत्कालिन बैठक बसि बिस्फोटक पदार्थ सहितको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको विषेश टोली त्यस तर्फ परिचालन गरिएको प्रजिअ खड्काले बताए ।

सो पहिरोबाट स्थानीय ब्यक्तिहरुका तीन घर पुरिएको भन्ने सुन्नमा आएको तर पुष्टि हुन बाँकी रहेको छ । करिब एक सय मिटर अग्लो पहाडको ठूलो ढिस्कोले थुनिएको बैधनाथ खोला एक्कासी पुटेर गएमा त्यस मुनिका सोमवारे, बगपति, गोहिया, रिस्कु र कटारीको गुन्द्रि बजार पुरै खतरामा रहेकोले त्यस क्षेत्रमा सतकृता अपनाइएको पनि उनले बताए । पहिरो करिब ६०/७० मिटर चौडाई र १ सय मिटर अग्लो थुनिएको स्थानीयबासी चन्दश्वर श्रेष्ठले जानकारी दिए । उनले भने पहिरो नहटाए दनुवारबेसीका ८० घर परिवार र नेपालटार बजारको ६ सय घर परिवार डुबानमा पर्ने खतरा बढेको जनाएको छ ।

अबिरल रुपमा परेको वर्षासँगै आएको बाढी र पहिरोबाट उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । त्रियुगा ,बरुवा ,ककरु, तावा र यारी लगायत दर्जनौ खोलामा आएको बाढीले तटबाधहरु बगाउदा करोडौको भौतिक क्षति भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रववहादुर खड्काले जानकारी दिए ।
प्रजिअका अनुसार अबिरल वर्षाबाट जिल्लाको जन जीवन चौतर्फि रुपमा प्रभावित भएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित स्थानीय बरुवा खोलामा आएको बाढीले तटबाध बगाउदा गाईघाट बजार उच्च जोखिममा परेको छ । त्रियुगा नगरपालिका– ११ को साकेला टोल नजिकै त्रियुगा नगरपालिका र सुरक्षाकर्मिले अघिल्लो दिन बनाइएको करिब एक सय मिटर तटबाँध सनिवार भत्काएर बरुवाको बाढी बजार तिर पसेको र रोकथामको लागि प्रयास भई रहेको प्रजिअ खड्काले जानकारी दिए ।

त्रियुगा नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोलिले तदारुक्ताका साथ बजार सुरक्षाका लागि बोरामा बालुवा भरी बाँसका घोचाहरु गाडेर नयाँ तटबाँध निर्माण गरि बाढीको जोखिम रोकथाम गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रववहादुर खड्काले बताए । बरुवा खोलाको बाँध भत्किदा गाईघाट बजारका सयौ घरहरु डुवानमा परेका छन ।

यसैगरी त्रियुगा नदिको बाढीले तटबाँध बगाएपछि बेलका नगरपालिका– १ को आम्बासी खयरवन गाउँका करिब दुई हजार पाँच सय घरहरु डुबानमा परेको र त्यहाबाट अहिले सम्म दुई सय ५० परिवारलाई उद्धार गरीएको बाँकीलाई उद्धार कार्य जारी रहेको प्रजिअ खड्काले बताए । सो बाढीले आमबस्थित बेलका कृषि अनुसन्धान केन्द्रको ८० हजार माछाका भुरा सहित सात वटा पोखरी बगाएको जनाएको छ ।

यसैगरी जिल्लाको ताप्ली गाउँपालिका– ५ स्थित तीन सय बेसी सुरक्षार्थ लगाइएको करिब तीन सय मिटर तटबाँध यारी खोलाको बाढीले पुरै बगाउदा झण्डै दुई करोडको भौतिक क्षति भएको सो गाउँपालिकाका अध्यक्ष उध्दवसिह थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार पहिरोको जोखिममा रहेका त्यहाँका पाँच घर स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यता गाईघाट– दिक्तेल सडक खण्डको रानीवास क्षेत्रमा अबरुद्ध भएको सडक सुचारु गर्न प्रहरी टोली त्यसतर्फ परिचालन गरिएको भएपनि लगातार पहिरो झरीे रहेकोले शुक्रवार देखि नै सवारी आवागमन सुचारु हुन नसकेको प्रजिअ खड्काले बताए । यसैगरी सिद्धिचरण लोकमार्गको कटारी घुर्मि खण्डको लेखानी क्षेत्रमा पनि ठाउँ ठाउँमा पहिरो गएका कारण सो सडक पनि अबरुघ भएको छ । जिल्लाका सबै आन्तरिक रुटहरु अबरुद्ध भएका छन ।

प्रकाशित मिति: २८ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्