सरकार र विप्लव नेकपाबीच गोप्य बार्ता, विप्लवलाई मन्त्रीको प्रस्ताव


 


काठमाडौं । सरकार र प्रतिवन्धित विप्लव नेकपाबीच अनौपचारिक बार्ता शुरु भएको छ । नेकपा महासचिव बिष्णु पौडेलले विप्लव नेता हेमन्तप्रकाश ओलीलाई नख्खु जेलमा भेटेको एकसाता नवित्दै प्रधानमन्त्रीका भित्री बार्ताकार सोमप्रसाद पाण्डेले भक्तपुरको एक होटलबाट अनौपचारिक संवाद थालेका छन् ।

आइतवार नेकपा नेता पाण्डे र प्रतिबन्धित विप्लव नेकपाका नेताहरुबीच गोप्य वार्ता भएको छ । उनीहरुबीच दुई घण्टा छलफल भएको थियो । तर विप्लव पक्षबाट वार्तामा को सहभागी थिए उनीहरुको नाम भने सरकारी पक्षले गोप्य राखेको छ ।

बिप्लव नेकपालाई मुलधारको राजनीतिमा ल्याउन नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छुट्टा छुट्टै कसरतमा थिए । प्रधानमन्त्री ओलीले महासचिव बिष्णु पौडेल र सोमप्रसाद पाण्डेलाई वार्ताको जिम्मेवारी दिएका थिए भने प्रचण्डले पूर्वगृहमन्त्री जनार्दन शर्मालाई वार्ताको जिम्मेवारी दिएका थिए ।

नेता जनार्दन शर्माले नेत्रबिक्रम चन्द विप्लव आफ्नो साथी भएका कारण वार्ता गर्न आफु इच्छुक भएको धारणा केही समयअघि सारेका थिए । तर प्रधानमन्त्री ओलीले महासचिव पौडेल र पाण्डेलाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्रीले जिम्मेवारी दिएका दुई नेताले छुट्टा छुट्टै वार्ताको प्रयास थालेका छन् ।

प्रधानमन्त्री ओलीका वार्ताकारले विप्लव समुहलाई फकाउन थालेका छन् । उनीहरुले विप्लवलाई मन्त्री बनाउने प्रस्ताव पनि गरेका छन् । तर विप्लव समुहले मन्त्रीका लागि आफुहरु भूमिगत नभएको जवाफ दिएका छन् । उनीहरुबीचको सम्वाद सकारात्मक भएपछि अबको वार्ता नेपाल बाहिर गर्ने तयारी दुवै पक्षले गरेका छन् ।

प्रकाशित मिति: ३१ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्