सडक कालोपत्रे गरेको एक महिनामै उप्कियो


 


बागलुङ । बागलुङ जिल्लाका दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महिनामै उप्किएको छ । दुई करोडको लागतमा बनेको गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३।७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ ।

केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित रु एक करोड र जैमिनी नगरपालिकाको रु एक करोड लागतमा कालोपत्रे गरेको सडक एक महीनामै उप्किन थालेको जैमिनी नगरपालिकाले जनाएको छ ।

कालोपत्रे गरेको सडक गुणस्तर कमजोर भएको गुनासो आएपछि नगरपालिका, डा पाठक, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमसहितको समूह र सडक डिभिजन कार्यालयका इञ्जिनीयर सिंहबहादुर विष्टको संयुक्त अनुगमनले सडकको गुणस्तरमा कमजोर भएको प्रतिवेदन नगरपालिकालाई बुझाएको थियो ।

विष्टका अनुसार प्रारम्भिक अध्ययनमा कालोपत्रे गरेको सडकमध्ये २५८ मिटर सडक कमशल भएको पाइएको छ । इञ्जिनीयर भन्नुभयो, “सडकको सम्पूर्ण गुणस्तर जाँच गर्न ल्याब टेष्ट गरेपछि मात्र भन्न सकिने इन्जिनीयरले जनाएको छ ।

दुई करोड लागत इष्टमेट गरेको सडकलाई ‘बि एण्ड ए’ निर्माण कम्पनीले एक करोड २५ लाखमा काम सम्पन्न गर्ने गरी गत चैत १८ गते सम्झौता गरेको थियो । कालोपत्रेमा गुणस्तर कम भएको प्राविधिकको प्रतिवेदनअनुसार २५८ मिटर सडकको रकम निर्माण कम्पनीलाई भुक्तानी नगरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्