मन्त्री अरुण नेपालले भने : जिल्ला सह-इन्चार्ज चाहिँदैन, नाम हटाइदिनू


 


काठमाडौं : प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले नेकपा सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज पद अस्वीकार गरेका छन्। पार्टीले नीतिको पालना नगरी जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेको आरोप लगाउँदै विगतमा जिल्लाको इन्चार्ज नै नरहेको व्यक्तिलाई सहइन्चार्ज बनाइएको भन्दै असन्तुष्टि जनाएका हुन्।

नेता नेपालले सिन्धुपाल्चाकको सहइन्चार्ज तोक्दा पार्टीले एकता पूर्व गरिएको दुवै पार्टीका इन्चार्जबाट नै जिल्ला इन्चार्ज बनाउने सहमति तोडेको आरोप लगाउँदै नेता नेपालले आफ्नो असहमति रहेको उल्लेख गरे। एकता पूर्व दुवै पार्टीका इन्चार्जबाट नै नेकपाको जिल्ला इन्चार्ज बनाउने नीतिगत सहमति बनेको विषय सार्वजनिक भइसकेको छ।

तर सिन्धुपाल्चोकको सहइन्चार्ज तोक्दा यो नीतिलाई मानेको देखिएन, नेपालले भनेका छन् म नेकपा एमालेको नवौँ महाधिवेशन भन्दा पहिले पोलिटब्युरोको वैकल्पिक सदस्य, वागमती अञ्चल कमिटीको सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्लाको इन्चार्ज थिएँ। उनले आफले पार्टीको नवौ महाधिवेशनपछि पोलिटब्युरो सदस्य र बाग्मती अञ्चल कमिटी इन्चार्ज भएर काम गरेको स्मरण गराउँदै जिल्ला सहइन्चार्ज तोकेर आफ्नो अवमूल्यन गरिएको जिकिर गरेका हुन्।

‘संघीय संचना बनेपछि म तीन नम्बर प्रदेश कमिटिको सचिवालयको सदस्यमा रहेँ। पाच वर्षदेखि जिल्लाको इन्चार्ज नै नरहेको ब्यक्तिलाई कसरी सहइन्चार्ज बनाउने निर्णय भएको हो मैले बुझ्न सकेको छैन’, नेपालले अगाडि भने, ‘भुलवश यस्तो भएको पनि हुनसक्छ। म सधैँ नीति र विधिमा चल्नु पर्छ भन्ने मान्छे हुँ।

यदि भुलवश वा समयमा सही सूचना प्राप्त नभएर यसो भएको हो भने निश्चयनै सच्याइने छ।’ नेता नेपालले जिल्ला सह-इन्चार्जबाट आफ्नो नाम पार्टीले हटाउने पनि अपेक्षा गरेका छन् । ‘मेरो नाम हटाइने विश्वास लिएको छु। तर, निर्णय नै यस्तो भएको हो भने म बिनम्रतासाथ यो जिम्मेवारी अस्वीकार गर्दछु’, उनले भनेका छन्।

प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्