देउवाले भने – बीपीको विचारमाथि ठूलो आक्रमण भइरहेको छ


 


काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन् । वीपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘वीपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पारे ।

सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका देउवाले भने, “लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढङ्गले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक सङ्घर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ । मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउने ढङ्गबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ ।”

अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको बताउँदै उनले व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको आरोप लगाउनुभयो ।

सभापति देउवाले वीपीको विचार अहिले पनि सान्दर्भिक भएको बताए । उनले भने, “वीपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उहाँको व्यक्तित्व साच्चिकै असाधारण छ ।”

प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्