पाँचथरमा सुत्केरीको हेलिकप्टर मार्फत उद्धार


 


पाँचथर, साउन ६

पाँचथरको दुर्गम तुम्बेवा गाँउपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । तुम्बेवा गाँउपालिका वडा नं. ४ की २० वर्षीया रुपा लिम्बूको नेपाल सरकारको कार्यक्रमअन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुम्बेवाका अध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले पार्टीसामु गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मार्फत पहल गरेर लिम्बूलाई उपचारका लागि पठाइएको जानकारी दिए ।

सवारीका साधनबाट सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन समय लाग्ने र यस क्रममा सुत्केरीको अवस्था अझ जटिल हुनसक्ने भएपछि हेलिकप्टरको माध्यमबाट उपचारका लागि पठाइएको उनले बताए । नेपाल सरकारको दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी महिलालाई उद्धार गर्ने कार्यक्रमअनुशार लिम्बूको उद्धार गर्न पाएकोमा सम्बाहाम्फेले खुसी ब्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुने स्थानीयको जानकारी, स्थानीय स्वास्थ्य संस्था र तुम्बेवा गाँउपालिकाको सिफारिसपछि लिम्बूलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जानकारी दिए ।
“समयमै खवर आएकाले तत्कालै गृह मन्त्रालयसँग समन्वय गरी उपचारका लागि पठाइएको हो” प्रजिअ वस्तीले भने “अव सुत्केरीलाई कुनैपनि जोखिम रहेन् ।” नेपाल सरकारको कार्यक्रमअन्तर्गत पाँचथर जिल्लाबाट पहिलो पटक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्