ट्राफिकका असई आचार्य उत्कृष्ट प्रहरी


 


विराटनगर, साउन ७

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट नेमुवामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) तुलामणि आचार्य २०७६ साल असार महिनाको उत्कृट प्रहरी घोषित भएका छन् ।

प्रदेश १ मा कार्यरत ट्राफिक प्रहरी मध्ये उत्कृष्ट कार्य गरेपछि उनलाई पुलिस अफ दी मन्थको उपाधिबाट पुरस्कृत गरिएको छ । विभागिय नीति अनुसार आफूलाई दिएको जिम्मेवारी अनुशासित ढंगबाट लगनशिल भई पूरा गरेका कारण आचार्यलाई उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

उनका अनुसार आचार्यले ट्राफिक व्यवस्थापन एवं सवारी दुर्घटना न्यूनीकरणमा सक्रियता पूर्वक लाग्दै सरोकारावाला निकायसँग समन्वय गरेर कोसी राजमार्गका दुई ठाउँमा आईल्याण्ड निर्माण गरेका छन् ।

आचार्यले सडक दुर्घटना न्यूनीकरणका लागि सडकको लेन छुट्याउन राखिएको डिभाईडरमा ६ वटा डमी ट्राफिक राख्ने, सडकको बीचमा रहेका बिजुलीका पोलमा राति टल्कने रिफ्लेक्टर स्टिकर टाँस्ने, सडक प्रयोगकर्तालाई ट्राफिक नियम सम्बन्धी चेतना अभिवृद्धि गराउने कार्यक्रम सञ्चालन गर्ने, चालकसँग ५ मिनेट कार्यक्रममा तीन सय ६६ जना चालकलाई प्रशिक्षण दिने र ट्रयाक्टरमा रिफ्लेक्टर टाँस्ने काम गरेका छन् ।

विभिन्न ठाउँमा ट्राफिक संकेत बोर्ड राख्ने र सडकमा जेब्रक्रस निर्माण गर्ने काममा पनि आचार्यको सक्रियता रहेको एसपी दाहालले बताए । साथै आचार्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक जनचेतनामुलक कार्यक्रम गरी प्रशंसनिय कार्य गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्