कटान रोक्न उर्लाबारीमा स्थानीयले एकै रातमा बनाए तीन सय मिटर लामो ‘पर्कुपाइन’



विराटनगर। इच्छाशक्ति भए जतिसुकै अप्ठ्यारा पनि पार लगाउन सकिन्छ भन्ने भनाईलाई मोरङ उर्लाबारी–८ दुर्गापुरीका बासिन्दाले व्यवहारमा प्रमाणित गरेर देखाएका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने आख्यानलाई यथार्थमा परिणत गर्ने गरी स्थानीयले लगातार १५ घण्टाको मिहिनेतबाट तीन सय मिटर भन्दा लामो बाँसको अस्थायी बाँध ‘पर्कुपाइन’ बनाएका छन् ।

असार अन्तिम साता परेको अबिरल वर्षाका कारण उर्लाबारीको बीच भागबाट बग्ने बक्राहा खोलाले दुर्गापुरी बगरटोलको जमिन कटान गरिरहेको थियो । कटान तिब्र हुँदै खोला बस्तीमा पस्ने अवस्था आइसेको थियो । त्यसलाई रोक्न सरकारका तर्फबाट तत्काल पहल भइरहेको थिएन । खोलाले जेठा मरडी, करण मरडी, बुद्धिलाल हेमरन, मुसुज हेमरन, मण्डल मुर्मू र डेडमै सरणको घर बगाइसकेको थियो ।

दुई वर्ष अघि आएको बाढीले सोही बस्तीको १४ घर बगाएर लगेको थियो । बाँकी रहेको ६ घर यसपालीको बाढीले बगाइदियो । बीस घर सतार जातिको बस्तीमा अहिले बक्राहा उर्लिएर बगिरहेको छ । बस्तिको छेउमा रहेको पीपलको बोट पनि बाढीले लडाइदिएको छ भने उनीहरूको कुलमन्दिरको पनि कुनै नामोनिसान छैन । तत्काल कटान नरोक्दा खोलाले इटहराका दुई वटा वार्ड, गोविन्दपुरक्षेत्रको धेरै भूभागमा ठूलो क्षति पु¥याउन सक्थ्यो । सम्भावित क्षति र अनियन्त्रित कटान रोक्नकालागि स्थानीयहरु आफैं जुटे ।

उहाँहरुसँग न बजेट थियो न आवश्यक स्रोतसाधन नै । नदीको कटान रोकेर खेतीयोग्य जमिन र तल्ला बस्तीहरु जोगाउन बाँध बनाउनै पर्छ भन्ने इच्छाशक्ति मात्र थियो । स्थानीयको इच्छाशक्तिको प्रमुख स्रोत हुनुहुन्थ्यो त्यस क्षेत्रका प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा । जसरी पनि कटान रोक्नुपर्छ भनेर उहाँ स्वयं दर्के झरीमा काममा खटिनुभएको थियो ।

उहाँकै पहलमा जनपद प्रहरीको दश जनाको टोली र सशस्त्र प्रहरीको २५ जनाको टोली साँझ ५ बजे घटनास्थल पुग्यो । प्रदेश सभा सदस्य साम्बासहित अरु २५–३० जना स्थानीय भेला भएर ‘पर्कुपाइन’ बनाउन थाले ।

भेलाभएकाहरुले समूह बनाए । बाँस काट्ने, गिड्ने, गाड्ने र बाँध्ने काममा जुटे । साँझ ५ बजेटबाट सुरु गरको काम रातभर जारी रह्यो । सबैको पहल र प्रयत्नबाट १० लाख रुपियाँ भन्दा बढी लागत पर्ने ‘पर्कुपाइन’ तयार भयो ।

पूर्णजनश्रमदानबाट बाँध तयार भएपछि कटान नियन्त्रणमा आएको छ । ‘पर्कुपाइन’ विधिबाट यो पटकको बाढी बस्ती छिर्नबाट जोगाउन सफल भएपनि दीर्घकालिन समाधान भने आवश्यक रहेको जेठा मरडी बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News