स्वास्थ्य केन्द्रमा रातभर पार्टी गरेको समाचार लेख्दा पत्रकारलाई स्पष्टीकरणको माग


 


तेह्रथुम । प्राथमिक स्वास्थ्य केन्द्रको कार्यालयमा रातभर पार्टी गरेको समाचार लेख्दा पत्रकारलाई स्पष्टीकरण माग गरिएको छ । आठराई गाउँपालिकाको सक्रान्ति बजारमा रहेको स्वास्थ्य केन्द्र गएको बुधबार साँझ स्वास्थ्य कार्यालयमा पार्टी र दोहोरी साँझ नै सञ्चालन गरेको थियो । पार्टीमा बजाएको गीतले बजारमा होहल्लासमेत भएको थियो ।

त्यसको भोलिपल्ट ‘हाम्रो सवाल डटकम’ सञ्चालक तथा सम्पादक अमृत बास्तोलाले ‘स्वास्थ्य केन्द्रमै पार्टी सञ्चालन’ भनेर समाचार लेखेका थिए । उक्त समाचार मनगणन्ते भएको भन्दै गाउँपालिका कार्यालयले सञ्चालक तथा सम्पादक बास्तोलालाई स्पष्टीरण मागेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रले पत्रकार बास्तोलाविरुद्ध गाउँपालिकाको कार्यालयमा उजुरी दिएपछि गाउँपालिकाले बास्तोलालाई ७ दिनभित्र लिखित स्ष्टीकरणसहित उपस्थित हुनु भनिएको छ । विभिन्न सञ्चार माध्यममा समाचार प्रसारण, प्रकाशन भएपछि स्वास्थ्य केन्द्रका प्रमुख डाक्टरले शुक्रबार दिउँसो फोन गरेर पत्रकार बास्तोलालाई धम्कीसमेत दिएका थिए ।

समाचारको विषयमा दुवै पक्षलाई मिल्न गाउँपालिका कार्यालयले बास्तोलालाई बोलाएर समाचारबारे माफी माग्न लगाएको थियो । तर बास्तोलाले अस्पताल जस्तो संवेदनशील र सार्वजनिक स्थलमामा पार्टी तथा मदिरा जन्य वस्तु प्रयोग गरेर खैलाबैला गर्दै गैरजिम्मेवारी काम गरेको विषयमा लेखेको समाचारको बारेमा माफी नमाग्ने अडान लिएपछि उनलाई गाउँपालिकाले लिखित रूपमा स्ष्टीकरण मागेको हो ।

उता अस्पताल प्रशासन भने अस्पतालका कर्मचारीको निवास त्यहीँ भएकाले यस्तो क्रियाकलाप गर्न पाउने तर्क गरेको छ । स्वास्थ्य केन्द्रको कार्यालयमा पार्टी र दोहोरी साँझ चलाउने केन्द्रका प्रमुख डा सन्तोषप्रसाद शाहलाई भने गाउँपालिका कार्यालयले स्पष्टीकरण मागेको छैन ।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्