पूर्वराजा शाहले भने – रअका प्रमुखसँग भेट भएको छैन


 


काठमाण्डौँ, साउन १०

पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको प्रष्ट्याएका छन् । पूर्व राजा शाहका सचिव फणिराज पाठकले विज्ञप्ति जारी गर्दै पूर्वराजाले रअ प्रमुखलाई नभेटेको दाबी गरेका हुन् ।

पाठकले जारी गरेको विज्ञप्तिमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरुमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु’ भनिएको छ ।

यस्ता कपोकल्पित समाचारले राष्ट्रको गरिमा घटाउने र नेपालीको सम्मानमा ठेस लाग्ने पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु,’ पूर्व राजा शाहका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १० श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्