गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने १४८ उद्योगमाथि मुद्दा दायर


 


काठमाडौं । खाद्य र कृषि वस्तुको गुणस्तर र स्वच्छता अनुगमन गर्ने खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७५÷७६ मा अखाद्य, दूषित, न्यून गुणस्तरलगायत अनुज्ञापत्र नलिई सञ्चालित १४८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । राजधानी दैनिकमा कौशिला कुँवरको बाइलाइनमा समाचार प्रकाशित छ ।

खाद्य र दाना ऐन तथा नियमानुसार उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने अखाद्य वस्तुको उत्पादन, मिसावट तथा बिक्रीवितरण गर्ने ती उद्योगमाथि विभागले मुद्दा दायर गरेको हो ।

मुद्दा पर्नेमा सबैभन्दा बढी प्रशोधित पानी, दूध, चाउचाउ, घिउ, मिठाई, बिस्कुट, तेल र बेकरी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । प्रवक्ता महर्जनका अनुसार मुद्दा दायर गरिएका उद्योगमध्ये ३९ वटा प्रशोधित पानीका छन् ।

यसैगरी, २९ वटा खाद्य तेल र ६ वटा दाना उत्पादन गर्ने उद्योगमाथि मुद्दा दायर गरिएको छ । त्यस्तै, दूषित खाद्यवस्तु उत्पादन, न्यून गुणस्तर र लेबललगायतका विवरण नमिलेका तथा निर्दे्शिका उलंघन गरेका ७४ उद्योगमाथि मुद्दा दायर गरिएकोे विभागले जनाएको छ ।

विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्यवस्तुको परीक्षण गर्दा दूषित एवं अखाद्य वस्तु मिसावट गरिएको आरोपमा विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको विभागका प्रवक्ता महर्जनले जनाए ।

मुद्दा दायर भएका प्रशोधित पानी उद्योगमध्ये सबैभन्दा बढी मोरङ जिल्लाका छन् । मोरङमा मात्र १४ वटा प्रशोधित पानी उद्योगमाथि मुद्दा दायर गरिएको हो । यसैगरी, काठमाडौंमा ६, बाँकेमा चार, चितवनमा चार, झापामा दुई तथा भक्तपुर, हेटांैडा, सिराहा, कास्की र नुवकोटमा एक÷एकवटा प्रशोधित पानी उद्योगमाथि मुद्दा दायर गरिएका विभागले जनाएको छ ।

विभागले सुधा जल उद्योग प्रालि सर्लाही, सगरमाथा फुड एन्ड बेभरेज प्रालि, श्री कृष्ण वेभरेज काठमाडौं, गोरखा वेभरेज प्रालि, माता सरस्वती खानेपानी प्रालि कागेश्वरी, मनहरा, गंगा खानेपानी उद्योग गोकर्णेश्वर काठमाडौं, दुर्गा भवानी, मिनरल एन्ड बेभरेज झापा, पशुपति टेन्ट एन्ड होटल, दमक झापालगायतका पानी उद्योगमाथि मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्