झापामा पाँच दिन घुम्ने, दुई दिन ब्यापार गर्ने रमाईलो ठाउँ


 


झापा को पुरानो मध्येको एउटा गौरादह वडा नं. १ बीच बजारमा रहेको गुन्द्री बजार बहुआयमिक नमुना हाटबजार तथा पार्कमा परिणत भएको छ ।

सातामा दुईपटक आइतबार र बिहीबार हाट बजार लाग्ने र बाँकी पाँच दिन पार्कको रुपमा यसलाई आन्तरिक तथा बाह्य पर्यटक घुम्ने स्थलको रुपमा निर्माण गरिएको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।

फुलबारीसहितको आधुनिक हाटको रुपमा निर्माणको काम अन्तिम चरणमा पुगेसँगै गुन्द्रि बजार विस्थापित बनेको छ । आकर्षक स्टलहरुसहित भुइमा इन्टरलक टायल बिछ्याइएको छ भने बोटबिरुवा र फूलहरु समेत बढ्दै गएका छन् ।

अध्यक्ष भण्डारीका अनुसार अहिलेसम्म प्रदेश सरकारको ९९ लाख र नगरपालिकाको ३० लाख रुपैयाँ खर्च भएको छ ।
अझै हिँड्ने सडकमा इन्टरलक टायल, यहाँभित्रको दुर्गा र हनुमान मन्दिरलाई आकर्षक बनाउने, गौरादहको पोखरीको प्रतिक बनाएर गाईले पानी खाइरहेको प्रतिमा निर्माण समेत तीन महिनाभित्रमा पूरा गर्ने लक्ष्य रहेको जनाइएको छ । यसका लागि थप २१ लाख रुपैयाँ बजेट बन्दोबस्त भइसकेको उनले बताए ।

करिब १३ कठ्ठा जमिनमा दुईतर्फी गरेर ९८ वटा व्यवस्थित स्टल रहेका छन् । स्टल बाहेकबीचमा समेत अन्य पसलहरु राख्न दिइएको छ । अहिले पुरानो गुन्द्रीबजार भनिएको स्थलमा मात्र दुई सयभन्दा बढी पसलहरु अटेको बजार ब्यवस्थापन समितिका अध्यक्ष खड्ग थापाले बताए । ‘यहाँ द्ुई दिन हाट लाग्छ र बाँकी दिन पार्कको रुपमा यसलाई सञ्चालन गर्छाैं’ –थापाले भने ।

फुटपाथ, फुलबारी, अन्डरग्राउण्ड ड्रेन, आकर्षक बत्ति र सीसी टिभी लगायतले बजार व्यवस्थित भएको थापा बताउँछन् । वि.स. २०१२ सालदेखि यहाँ हाट लाग्दै आएको स्थानीयहरुको भनाइ छ । पहिलो पटक परम्परागत हाट व्यवस्थित भएको भन्दै स्थानीयले खुशी प्रकट गरेका छन् ।

स्थानीय दुर्गा आचार्यले अहिले बजार आउँआउँ लाग्ने भएको बताए । थान कपडा एकातिर, रेडिमेट कपडा अर्कातिर, जुत्ताचप्पल बेग्लै, अन्य चुरापोतेका पसलहरु अर्कै ठाउँमा रहदा जसलाई जे चाहिएको हो त्यहाँ जान सक्ने भएको उनले जनाए । ‘यस्तो बन्छ जस्तो लागेको थिएन, तर धेरै राम्रो बनेको छ’ –उनले भने ।

सब्जी बजारका लागि भने कुनै व्यवस्था नहुँदा हाटको दिन सडकमा नै सब्जी बजार लाग्दै आएको छ । कुहिने र बिग्रने किसिमका सामग्री भएकाले नयाँ बनेको बजारमा राख्न नसकिएको वडाध्यक्ष भण्डारीले बताए । बजारमात्र नभएर पर्यटकीय स्थल पनि भएकाले सफाइलाई पनि ध्यान दिएर त्यो बेग्लै रहनुपर्छ भन्ने लागेको उनले बताए । ‘हामी सब्जी बजारको व्यवस्थापनको बिषयमा पनि गम्भीर रुपमा नै विकल्प खोजिरहेका छौं’ –उनले भने ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले गौरादह बजार नगरपालिकाको पहिचानको रुपमा नमूना बजार बनेको बताउँदै अन्य पुराना बजारहरुको समेत व्यवस्थापन र पुननिर्माणको चालू आर्थिक बर्षमा बजेटको व्यवस्था गरिएको जानकारी दिए । ‘पुराना सबै हाटबजारहरुलाई व्यवस्थित गरिँदै लैजाने गरी कार्यक्रम ल्याएका छौं’ –शाहले भने । यसले आन्तरिक उत्पादनलाई बजार प्रवद्र्धनमा सहयोग पुग्ने आफुहरुको अपेक्षा रहेको पनि शाहले जनाए ।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्