आँसुको सीतन



akraj bhujel
एकराज भुजेल

घरै घरको वस्ती घर सँग घर जोडिएका छन् तर पनि वल्लो घरको छिमेकीले पल्लो घरको छिमेकीलाई नचिन्ने ठाउँ आपत् विपत्त पर्दा टुलुटुलु हेरिरहने समाज न बाच्दा जन्ती न मर्दा मलामी यस्तो कठोर ठाउँमा बहकिनु पर्दा कहिले काही कस्तो विरक्तिन्छ यो मन । आहा भोजपुरको त्यो रमणिय ठाउँ, गाउँ बेसी, उकाली उरालीमा हलो कोदालोसँग मितेरी लगाउँदै छिमेकीहरुको मिलोमतोमा खेत बारीमा असारे भाखामा गीत गाउँदै हिलो छ्यापाछाप गर्दै काम गर्दाको मज्जा, बनपाखा पखेरीमा जंगलको फेदबाट निस्किएको मुलको चिसो पानी पिउँदै, बासुरीको धुनसँग गाई गोठालो गरिरहँदा न्याउली चरीको न्याउ न्याउ, कोइली चरीको कुहुँ कुँहु सँगै समय अनुसार चिरविराउने चरीका आवाजका साथ मृग, हरिणका पाठाहरुसँग गुँरास, सल्ला, धुँपीका झोर जंगलमा रमाउँदाको क्षण अविष्मरिणय बनाउँदै यो उकुस मुकस भएको काठमाण्डौं सहरको छातिमा फोहोरको लेदोलाई बगाई रहेको धोबी खोलाको किनारै किनार गन्ध सहँदै सेतो पुलबाट अनामनगर तिर लुरु लुरु लम्कदै गर्दा धेरै समय पछि अर्चुको फोन आयो ।

अर्चु अलिक अतालिएर बोलिरहेकी थिई “दादा हजुर कता हो ?” म बाटोमा मदनभण्डारी कलेज छेउमा छु, किन र अर्चु ? “हजुरलाई सिलुले भेट्ने भन्दैछ” अर्चुले सिलुको नाम लिनासाथ मैले फोन काटे अर्चु सिलुकी साथी थिईन् सिलु जापानबाट आई सकिछ भन्ने थाहा पाए । मनमा नानाथरीका कुरा खेलाउँदै अघि बढिरहे संयोगवस रातो स्कुटर मेरो सामु रोकियो रातो हेलमेटले मुख छोपिएको थियो, गुलावी रङ्गको टि–सर्ट, कालो चस्मा, कालो कपडाको पैन्टमा सजिएकी हेलमेट खोलेपछि बल्ल सिलु भनेर चिने मिठासपूर्ण तवरले सम्वोधन गरी पुनः मायाँको डोरी गास्नको लागि भने हेलमेट खोलेकी होइन, सिलुले मेरो मायाँलाई तोडेको खादा ओढाउन आएकी थिई । बिदाईको घुम्टोमा लागेको दाग मेटाउन हर प्रयासमा जुटेकी थिई । तर जुन दिन देखि पोतिएको दाग अमिट छाप बनेर बसेको छ ।

सिलुको सामु उभिनु पर्दा मलाई आक्रोश होइन उल्टै दया, करुणाको भाव झल्कियो, धोका दिईस् भनेर हेल्मेट खोसेर हिर्काउन मन लागेन मलाई, म टोलाएर अघि बढे म आफै कायर बनेर एक वचन पनि नवोली अघि बढे तर पाइला चल्न सकेनन् शरिर थाकेर आयो आकाश धुम्म भएर धुम्मिएको थियो । क्षणभरमै आकास गर्जन थालियो । चट्याङ्ग पर्न थालियो बिजुली चम्किन थाल्यो यताउति हेरे खोलाको किनारैमा रहेको कान्छीको खाजा पसलमा छिरे धेरै भिडभाड रहेछ सबैका अगाडि भटमासको सीतन अनि लोकल रक्सीका गिलासहरु भरिएका थिए भने कसैका अगाडि जाँडले टिलपिल भएको डबका (जाँड खाने ठूलो बटुको) थिए । जाँडको घुट्की सँगै कान्छीको कटाक्ष सीतन, उत्ताउलो ठठ्ठासँगै कामुकता गतिविधी झल्किरहेको थियो । जाँडले मातेको एक जना जड्या कान्छीको हात समाउछ “सीतन अझै थप, एक डबका जाँड चाही उधारो भोली दिउँला पैसा” भन्दै हातपात गरुला झै गरिरहेको  थियो ।

तर कान्छी हासेरै जितिरहेकी  थिई । भूकम्पले घरबार विहिन भएर काठमाण्डौं छिरेकी कान्छी जाँड बेचेर नै जीवनलाई खुसी देखाउन चाही रहेकी थिई । कोही हल्ला गर्दै थिए कोही सुर्के थैली खै भन्दै गीत गाउँदै थिए । एक हुल तन्नेरीहरु चुरोटको धुँवा नाकबाट मुस्लो निकाल्दै कान्छीकै कुरा खासखुस गरिरहेका थिए घरी बेस्सरी हास्थे । दुई जना बुढा पनि कान्छीको वखान गर्दै थिए “बिचरी कान्छीलाई दैवले लुट्न सम्म लुटेको छ भुकम्पमा बाबा आमा अनि सबै परिवार आफ्नै घरले पुरिएर मरेछन् कान्छी मुश्किलले बाचिछ गहुँ काट्न बारीमा गएकीले”आहाँ कति राम्री हँसिली  मुहारकी कान्छीले मुसुक्क हास्दै सिसाको बोतलमा लोकल रक्सी भरेर टेबुलमा राखिदिन् ।

कान्छीसँगै अर्की मस्त जवानी भरिएकी तरुनी केटी कान्छीको सहयोगी आउने ग्राहकलाई स्वागत गर्न मै व्यस्थ देखिन्थी “सीतन के ल्याउँ दाजु” मैले भने खसीको जिव्रो र कान अनि थोरै सलाद, साधेको भटमास थोरै हरियो खुर्सानी पनि राख है, म लोकल रक्सीको बिर्को खोल्दै थिए सिलु मेरो पिछा गर्दै हेलमेट हातमा लिएर कान्छीकै भट्टीमा छिरी मलाई सिलुको सामु रक्सीको विर्को खोल्नु जीवनमा ठूलो काम गरेको अनुभूत भई रहेको थियो । जीवनमा आज पहिलो चोटी रक्सीको गन्ध मेरो नाकले थाहा पाउँदैछ, रक्सीको स्वाद मेरो जिव्रोले लिन खोज्दै छ । मेरो शरीरको नसा–नसामा रक्सी बग्न लागि रहेको छ ।

मैले रक्सी बोतलबाट गिलासमा खन्याए सिलुले हेरी मात्र रही केही बोलिन विगतका दिनमा रक्सी नखाए पनि खायो भनेर रक्सीको मात सिलुलाई लाग्ने गर्दथ्यो तर उसकै आखा अगाडि रक्सी पिउन लागेको थिए । तर उसलाई यो रक्सीले अलिकति नी छुने छैन । रक्सी, चुरोट खाईस् भने नाता तोडिने धम्की दिने सिलु भट्टीमा मलाई साथ दिन छिरेकी  थिई । रक्सी काँचको गिलासमा खन्याए । रक्सीको गिलास मुखमा पु¥याउने हिम्मत कसे ।

मुख छेउमै के पु¥याएको थिए ह्वास्स गन्ध आयो फेरि भूईमा राखे फेरि उठाए बलजफ्ती मुखमा लगाए जिव्रो नै पर्पर् गरि पोलिरह्यो घुटुक्क निले साधेको भटमास कान्छिले टक्राईन् भटमासको दाना मुखमा चपाउन थाले सिलुलाई नी भटमास खाउ भने तर उनले खान मानिन मुन्टो हल्लाई हिजोका दिनमा मेरा नजरमा नजर जुधाएर कुरा गर्ने तर त्यस दिन उसका नजर धर्ती मातासँग मात्र केन्द्रित थिए अनुहार धर्ती माता तिर घोप्टो पारेर केही भन्न लागि रहेकी थिई त्यस बेला मेरो सामु एक अपराधि मायाको बन्द इजलासमा उभिएकी छ जस्तो लाग्न थालियो ।

हिजोका दिनमा मायाको हत्कडीमा बेरिएकी फरार अभियूक्त आज मायाँको इजलासमा वयान दिई रहेकी थिई “आमाको चिता सल्किदा शीर्षकमा मेरो नाममा देशको न्यूज अनलाईन खबरमा प्रकाशित गरेर ठूलो गल्ती गर्नु भयो, मेरो मानहानी गर्नु भो, तपाई एक अपराधी बन्न लाग्नु भो म धेरै दुःखी छु, तपाईको आत्म रुवाएर अघि बढेछु तपाईको परलोक भएकी आमाले मलाई धिकार्ने छन् माफ गर्नुहोला, तपाई भन्नु हुन्थ्यो आमाले मलाई धेरै मन पराउनुहुन्छ, मेरो सिउदोमा सिन्दुर भरेको हेर्न रहर छ तर आज मेरो गल्ती भो ।”

भन्दै बर्रबरी आसुका धारा झार्न लागि उसका आँसुका धारा सीतनको प्लेटमा जम्न थाले म रक्सीको चुस्की सँगै सीतन लिन  खोज्थे तर सीतन आँसु नै आँसुले भरिदै  गए । सबै जना हामीतिर हेर्दै हास्दै थिए पहिलो मायाँ होला ….. भन्दै खासखुस गरिरहेका  थिए । उसको वयान सकेकि थिई । मायाँको इजलासमा उभिएकी सिलुलाई मैले पनि फैसला सुनाउँन थाले “तिमीलाई याद छ की छैन मनको फुलबारीमा फुल फुल्छ र सुगन्ध छर्छ अनि भवँराको ताती लाग्छ अनि फुलवारी शोभायामान हुँन्छ भनेर तिमी र म नै त्यही फुलबारीमा मालीको रुपमा ७–८ वर्ष गोडमेल र मलजलमै खटिरहेका थियौं ।

तिमीले रोपेको अनि गोडमेल गरेको फुल रामै्रसँग फुलेछ, तिमीले रोपेको फुलको विरुवाको पात खाएर मोटाएको लार्भा आज पुतली बनेर आफ्नो सँुडो फुलमा गाड्दै रस चुस्दै सुगन्धमा रमाउँदै नेपाल जापान गर्नमा तल्लिन छ । तर मैले रोपेको फुलको विरुवामा तुषारोपात परेर हुर्कनै नसकी मर्न लागेछ कोपिलामै बाँधिएको छ त्यही कोपिलामा कठ्याङ्ग्रिएको पात खान आज गोबरबाट हुर्केका किराहरु घुमिरहेका छन् । सिलु तिम्रो सधै भलो चाहने म राम्रो फुल फुलाएर टिप्न चाहेको थिइन मैले फुल फुलाएर गमलामा सजाएर कहिल्यै पनि ओइलाउन नदिई घाम पानीबाट जोगाएर राखी फुलबारीको शोभा बढाउने सपना देखेको थिए तर आज मेरो मेहनत, परिश्रमले हार खाएको छ, हो सिलु हार खाएको छ ।

फुल फुलाउन सकिन कोपिलामै सीमित भो त्यही कोपिलालाई गुहे किराहरु लुछालुछ गरिरहेको दृष्य देख्दा मेरो मन कटक्क काटिएको छ तर ती गुहे किरालाई नष्ट गर्न म कुनै पनि किटनासक औषधी प्रयोग गर्दिन । हो सिलु तिमीले अझ राम्रो सुगन्धित फुल फुलाउने माली फेला पारेकी छ्यौं तिम्रो मेहनत र परिश्रमको लागि मैले सलोट गर्नै पर्दछ । मेरो हार भएको छ तिम्रो जीत तिम्रो पक्षमा फैसला भएको छ ।” यति भनिरहँदा उसका आसु थामिएका थिएनन् । मलाई लागि रह्यो  गोहीले आहारा पाउँदा आँसु झार्छ रे साच्चिकै मलाई सिलुले झारेको आँसु गोहीको जस्तै लागिरह्यो ।

वास्तवमै विगतलाई भुल्न खोजेर भुल्न सकिदो रहेनछ बरु कम भने गर्न सकिने रहेछ ।  मेरो मानसपटलमा उनी सँग घुमे फिरेका रमाईला पलहरु खातखातबाट पत्ता थुतिए झै थुतिन थालेका थिए  सिलुसँग अनि सिलुको अंगालोमा बेरिएका स्वर्णिम पलहरु आँखामा नाच्न थाले सिलुको अनुहारमा हेरे सिलुको आँखामा निस्किएको ट्युमरलाई अप्रेशन गर्न तिलगङ्गा आँखा हस्पिटलमा रात दिन कुरुवा भएर बसेको, हिमाल हस्पिटलमा उनको तालिम सकेर फर्कदा सिटि सेन्टर कमलादीको कार्यक्रम अनि तालिम सकेर घट्टेकुलो हुँदै सँगै फर्किदा फित्तावाल चप्पल चुडिएको जस्ता बितेका दिनको याद आयो यसरी उनीसँग बिताएका पलहरु मेरो दिमागमा एक पछि अर्को गरी आउन थाल्यो सबै वयान गरेर साध्य नहुँने भो सिलु र मेरो वयान त पहिलेको जीवनको वास्तविक कथा देशको न्यूज अनलाईन खबरमा आईसकेकै छ दिमागलाई नै बोझ हुन थाल्यो ।

सिलु जुरुक्क उठी रातो निमन्त्रणा कार्ड झोलाबाट निकालेर मेरो सामु राखिदिएर हेलमेट बोकेर निस्कि । निमन्त्रणा कार्डमा लेखिएको थियो बरः हिरामणी सापकोटा र बधुः सिलु उप्रेती बीच ९ मे  २०१६ को दिन स्थान पशुपति मन्दिर परिसरमा हुने शुभ विवाहमा बर बधुलाई आसिरवाद दिन यहाँको उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ  । प्राथी मनहरी उप्रती भनेर लेखिएको थियो । निमन्त्रणा कार्ड हेरेपछि पुनः कान्छीलाई अर्को गिलास रक्सी थप्न अनुरोध गरे । मेरो जिब्रोले रक्सीको स्वाद मन पराउन थालिसकेको थियो । सुरुमा निल्न गारो लागेको थियो अव त्यस्तो गारो हुन छाड्यो जति खायो तेति मिठो पो माग्दै खान थालेछु । कान्छीले ठूलो भोलममा गीत बजाईन् “तिम्ले बाटो फेरेयौं अरे …..,”  “धेरै वर्षपछि आज फेरि यस्तै झरी प¥यो ……” सँगै खान बसेकाहरु कोही धुन्मुनिदै निस्किन थाले कोही त्यही गीतमा लठ्ठिएका थिए ।

म पनि जुरुक्क उठे थिग्रिनै सकिन फेरि थुचुक्क बसे बाडुली पनि लाग्न थालियो होस भने गुमेको छैन । बामे सर्दै गरेको बच्चा थिग्रन लागेको बच्चाको जस्ता खुट्टा लरबरिन थाल्यो । जिब्रो पनि पुरै लाटो भएछ कान्छिले मेरो बोली नै बुझ्न छोडिसकेकी थिई । सिलुले छोडेकी निमन्त्रणा कार्ड नै दोहोराई तेराई हेरी मात्र रहे ।

बिहे हुन मात्र १ दिन बाँकी छ । बिहेमा जानै पर्ला सिलु त मैले जीवनमै मन पराएकी केटी हो उ फेरि आफै आएर बिहेको कार्ड छोडेर गएकी छ मायामा पाउनु मात्र होइन त्याग्न पनि सक्नु पर्दछ भन्छन् साच्चिकै  म जानै पर्छ । उसले मेरो हात हटाएर अरु कसैको हातबाट आफ्नो सिउँदो रङ्ग्याउन लागि रहेकी छ त्यो दृष्य मेरा नयनलाई स्पर्श गराउँदा उसले संसार जितेको आभास गर्दछे भने म किन नजाने जान्छु भन्ने क्षण भरमै निर्णय गरे ।

साझ छिप्पिसकेको थियो कान्छीको भट्टी रित्तिदै थियो म पनि खुट्टा लरबराउँदै खुट्टाले नभ्याउँदा हातले समेत टेक्दै आफ्नो वास स्थानमा पल्टिए मेरो कोठा त पुरै घुम्न थाल्यो म त घरी उडे जस्तो घरी गुडे जस्तो टाउँको फुलेर फुट्ला जस्तै हुन थाल्यो रिङ्गटा लागेर वाकवाकी आउला जस्तो हुँदै थियो । बल्ल मलाई जाँडले मात्न थालेछ कसो कसो गर्दा गर्दै भुसुक्क निदाएछु । भोलीपल्ट व्यूजिदा त खाटमुनी पल्टिरहेको । माघ पुसको जाडोमा जस्तो मेरो जीउ त पुरै लगलग काम्यो ।

घिर्सिदै भएपनि भोलीको बिहेको लागि उपहार किन्न न्यूरोड जानै पर्ने भो न्यूरोड गए सिलुको लागि धेरै सामान छाने तर चित्त बुझ्दो कुनै केही भेटिन पहिले पहिले ठट्टै ठट्टामा सिलु भन्ने गर्थी “उपहार भनेको जे जस्तो भए पनि हुन्छ तर भित्रि आत्मदेखि नै खुसी भएर दिए पुग्छ” साच्चिकै मैले दिएको उपहार त भोली फोहोरको टोकरीमा नी पर्न सक्छ म उपहार दिन भन्दा पनि उसको सिउदो रङ्ग्याएको हेर्न पो जाने हुँ त यस्तै कुरा खेलाउँदै एउटा मायाको चिनो स्वरुपको उपहार किनेर फर्कर्दै गर्दा मनमा एकाएक संवेगहरु उत्पन्न भईरहेका थिए ।

साच्चिकै विछोडको पीडाबोध त हुने नै भो तर बिबाह गरेर सम्वन्ध विच्छेद हुनु भन्दा विवाह नगरी नै विच्छेद हुनु मेरो लागि श्रेयकर  ठान्नु पर्दछ । आज भोली  फेसन नै चलेको छ विवाह भएको क्षणभरमै सम्वन्ध विच्छेदका मुद्दाहरु अदालतमा चाङ् लाग्ने गर्दछन् तर सिलुले आधा बाटोमै सम्वन्धलाई तोडेकी छ ।

अदालतमा कहिले पेशी कहिले तारिख भनेर मैले सम्झनु पर्ने, अदालतको ढोका च्याउन जानु पर्ने बाध्यताबाट जोगाएर मेरो लागि राम्रो गरेकी छ भन्दै सकारात्मक सोच बुन्दै पुतलीसडक चोकमा आईपुगेको मात्र थिए गोजीमा मोबाईलको घण्टी बज्यो फोन अर्चुको नै रहेछ “अर्चु अतालिदै रुदै भन्दैछ सिलु त सडक दुर्घटनामा परेर गम्भीर अवस्थामा छ अहिले शिक्षण अस्पतालमा …….. .” फोन काट्यो । मलाई सपना जस्तै भो सिलुको त भोली बेहुली बन्ने दिन सिलुले मन पराएको दिलको राजासँग तर यो दैवले आज के गरेछन्  भोलीकी बेहुलीलाई आज किन हस्पिटलको बेडमा पु¥याउदै छौं हे भगवान भन्दै मायाको चिनो बोकेर शिक्षण अस्पताल महाराजगंज पुगे अर्चुलाई फोन गरे       “ कोठा नं १२ बेड नं ८ मा” भनि फोन काटी म कोठा नं गन्दै गन्दै पुगे सिलु बिहोसमा थिई स्लाईनको बोतल झुण्ड्याईएको थियो, नाकको प्वालबाट पाईप छिराएर अक्सिजन दिईरहेको थियो । डाक्टरहरु असिन पसिन भएर खटिरहेका थिए ।

सबैजना गहभरी आँसु पारेर स्तब्ध थिए कसैको मुखबाट बोली फुटेको थिएन । म एकहोरो हेरि मात्र रहे उसलाई त मैले देखे तर उसले देखिन उसका दुवै आँखा बन्द थिए म चाहन्थे उसका आखा खुलुन ती आखाले मेरा आखालाई स्पर्श गरुन् । तर उसका आँखा खुल्न सकिरहेका थिएनन् । उसलाई टुलु टुलु हेर्नेको संख्या मात्र बढिरहेको थियो । डाक्टरले भन्दैछन् “बिरामी झन् गम्भीर हुँदैछन् तपाईहरु सबै जना बाहिर गईदिनुहोला”हामी सबैजना बाहिर निस्कियौं ।

रातको ९ बजिसकेको थियो । हामी सबै जना बाहिर नै बसिरह्यौं बिरामीको हालत के होला भन्ने मात्र सोच थियो । रात छिप्पिदै गयो करिब रातको १२:५५ बजे सिलु हामी माझ कहिल्यै पनि नब्युजिने गरी  चिर निन्द्रामा परिछ । “माफ गर्नुहोला हामीले बचाउन सकिनौं”डाक्टरको बोली सुन्ने बित्तिकै कोलाहल मच्चियो, रुवाबासी भो म पनि बेस्सरी चिच्चाउन पुगेछु “सिलु”भनेर तर मेरो चिच्चाहट भित्तामा ठोकिएर फर्किरहेको थियो सिलुले मेरो चिच्चाहट सुन्न चाहिन म बेस्सरी रुए मायाँको कुण्ठालाई आसुमा बगाईरहे रुदा रुदै बिहानको मिर्मिरे भईसकेछ । हुरी वतास अनि असिनाको बज्रपातसँगै फुलेको सुन्दर फुल भुईमा खसेको छ फुलबारीको शोभालाई कुरुप पार्दै दैवेले त्यो सुगन्धित फुल चुडेर लगेका छ । फुल माथि बस्न ताछाड मछाड गर्ने भँवराहरु फुलविहिन हुन पुगे ।

सिलुलाई स्टे«चरमा राखियो शरिर भरी फुलै फुलले छोपियो । बेहुलीको घुम्टो ओढ्ने समयमा सेतो कात्रोले उनको शरिर बेरियो । समयको खेल मान्छेले के सोचेको हुन्छ तर के भईदिन्छ । सिलुलाई लिन पञ्चेबाजा बजाउँदै होइन नराम्रो हर्न बजाउँदै शब वाहन लिन आएको थियोे । सिलुको लगन गाठो कसिने दिन, खाली सिउदोमा सिन्दुर भरेर डोलीमा चढेर दुलहाको घरमा जाने दिन तर विडम्वना ठीक उल्टो भईदियो सिलुको बिहेमा रमाउन आएका निम्तालुहरु मलामी बनेर गए ।

सिलुको शव बोकेर शब वाहन आर्यघाट तिर बढिरहेको थियो हामी पनि शब वाहन पछि पछि शब यात्रामा थियौं सबैका आसु छल्किरहेका थिए । सबैका अनुहार मलिन थियो । बिदाई बास्तवमै रोमाञ्चकारी हुँदैन सबैलाई थाहा छ । सिलुलाई आर्यघाट पु¥याएर शव वाहनबाट निकालेर उनलाई फुलैफूलले सजाएको चितामा राखिएको थियो । सिलुको बिहेको लागि किनेको मायाँको चिनोको पोको अनि फुलका थुङ्गा, अनि अबिरले उसको लासलाई रङ्ग्याई दिए ।

सिलुलाई जापन पठाउँदा गरेको खुसीको बिदाईमा पनि त्यही अबिरको टिका लगाई दिएको थिए, त्यही गमलामा फुलेको फुलको माला भिराई दिएको थिए, प्लेनको सिट बेल्टले कम्मर बाधेर खादा ओढाएर खुसीको आसु बगाउँदै बिदा गरेको थिए । तर यस विदाईमा यति फरक छ उनलाई सेतो कात्रोले बेरिएको थियो, कम्मरमा बाँसको चोयाले कम्मरमा कसिएको थियो, हरियो बाँसमा सुताएर विदाई गर्नु परेको थियो । उनी यही समयमा विवाह मण्डपमा बेहुली भनेर हवनकुण्डमा हवन गर्दै गरेकी हुनेथिई तर चितामा सिलुको सिउँदो रङ्ग्याउने बेहुलाको हातबाट दागबत्ति दिने काम भयो ।

सिलु एकैछिनमा आगोका लप्कामा परी सेतो कपडामा बेरिएको सिलुको लास जल्न नमानी नमानी जलिरह्यो । लास पोल्न बसेका व्यक्तिले सिलुको शरिरमा घोचि घोचि पोल्दै थिए सिलु धुवाको मुस्लो बन्दै आकाशमा मडारिन थाली उसको गन्ध छरिन थालो उसका अङ्ग अङ्ग खरानीको डल्लो बन्दै वागमती खोलाको पानीमा बिलाई …… जुन दिन देखि मेरो जिब्रोमा “कति कमजोर रहेछ भाग्य तिम्रो सिउदो कोर्न सकिन, कति कमजोर रहेछ रहर तिम्रो आसु पुछ्न सकिन……” भन्ने गीत गुन्गुनाउँदैमा दिनहरु बितिरहेका छन् ।

दलगाउँ–४, भोजपुर

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News