अनुसन्धान ब्युराेका असईविरुद्ध विप्लवको पक्राउ पुर्जी, ‘इन्काउन्टर’ गर्ने चेतावनी


 


कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, कैलालीले प्रहरीकै विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइरहेको आक्रोशमा विप्लव समूहले प्रहरीका एक असइ विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पार्टीको जनअदालत प्रमुख क. विकासको नामबाट उसले राष्ट्रिय अनुसन्धान ब्युरोका एक असईलाई पक्राउ गर्न २५ दिने पुर्जी जारी गरेको हो । असई भैरव कुँवरलाई नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको कसुरमा पक्राउ गर्न पुर्जी जारी गरेको हो । उनलाई २५ दिनभित्र नेकपाको कैलाली जिल्ला अदालतमा उपस्थित हुन उर्दी गरिएको छ, नटेरे कारबाही गरिने चेतावनी छ ।

नेकपा कैलालीले क. विप्लवको नामबाट चेतावनी पत्र समेत जारी गरेको छ । सो पत्रमा निज असई भैरव कुँवरलाई जनसुरक्षा विभागले जुनसुकै बेला ‘इन्काउन्टर’ गर्न सक्ने चेतावनी दिइएको छ ।

चेतावनी पत्रमा भनिएको छ ‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि इन्काउन्टर गर्न आदेश दिइएको छ ।’

प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्