सांसद् महेश बस्नेतले भने – आज आलोचना गर्नेहरु भोली शिर निहुराएर आउनेछन्



भक्तपुर, साउन १८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समयमा सरकार तथा भक्तपुरको विकासको आलोचना गर्नेहरु भोलीका दिनमा शिर निहुराएर आउने बताउनुभएको छ ।

आज हनुमन्ते सफाई अभियानको ७५ औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका र वातावरण विभागले आयोजना गरेको बृक्षारोपण एवं हरियाली कार्यक्रममा बोल्दै सांसद बस्नेतले अभियानका कतिपय आलोचकहरु अहिले काल्टे फर्केर अभियनमा सामेल हुन थालेको बताउँदै अनावश्यक विरोध गर्नेहरु क्रमिक रुपमा भक्तपुरको विकास र समृद्धिमा सामेल हुने बताउनुभयो ।

अभियान फोहोर सफा गर्नेमात्र नभई मानिसको मन मस्तिष्कलाई सफा गर्ने भएको बताउँदै उहाँले अभियान अन्तररगन तै वृक्षारोपण, दुवो रोप्ने, ट्राफिक लाईट, स्मार्ट बत्ती, स्मार्ट ट्वाइलेटलगायतका कुराहरुको व्यवस्थापन गरी अरानीको राजमार्गलाई व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो ।

बस्नेतले यस्ता अभियानलाई रचनात्मक कसरी बनाउने र यसलाई विभिन्न सन्दर्भमा कसरी जोड्ने भन्नेमा बृहत रुपमा छलफल चलाइएको समेत बताउनुभयो । ‘यसक्रममा हामीले विभिन्न खालका रचनात्मक गतिविधिहरुलाई पनि निरन्तरता दिइरहेका छौं ।’ बस्नेतले भन्नुभयो,‘हामीले हनुमन्ते खोलामा मात्र ३ वटा ट्रस्ट ब्रिज बनाएर यसलाई नयाँ स्वरुप दिने काम गरेका छौं । यसै अभियान अन्तर्गत हनुमन्ते नदीमा करिडोर निर्माण गरेर अगाडि बढाइरहहका छौं । बाढी प्रभावित भएका बेला हामी अभियन्ताहरु सबै उद्धार कार्यमा जुट्यौं । हामी निरन्तर २ महिना राजमार्ग सरसफाइमा जुट्यौं । यस्ता कार्य भनेका अत्यन्त सिर्जनात्मक र रचनात्मक कार्यहरु हुन् ।’

पूर्वउद्योग मन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरको मनोहरा पुलदेखि सूर्यविनायकसम्म हरियाली क्षेत्र बनाउने अभियान आजबाट सुरु भएको बताउनुभयो । उहाँले यो अरनिको राजमार्ग खण्डको मनोहरादेखि सूर्यविनायकसम्मको ६ लेन सडकको बिच भागमा विरुवा रोप्ने र दूबो लगाएर हरियाली बनाउने अभियान सुरु भएको बताउनु भयो । सांसद बस्नेतले भन्नुभयो–“यो क्षेत्रलाई हरियाली बनाउन वातावरण विभागले एक करोड रुपैया विनियोजन गरेको छ, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाबाट यसका लागि सहयोग हुनेछ, हामी यो राजमार्गलाई हरियाली, सुरक्षित र उज्यालो राजमार्ग बनाउँछौ ।”

यो सडकमा सोलार लाईटको व्यबस्था गरेर उज्यालो बनाउने बताउदै उहाँले भन्नुभयो–“भक्तपुरबाट ईटा भट्टा हटाएर ईटा भट्टा मुक्त, खानेपानीको मूल सफाई र बाढी मुक्त जिल्ला बनाउने अभियान पनि सुरु भएको भनाई राख्नुभयो । हनुमन्ते सफाई अभियानले मानिसहरुको मन पनि सफा गरेको टिप्पणी गर्दै उहाँले अभियानको विरोध गर्नेहरु हुनमन्तेमा एक दिन कलकल सफा पानी बगेको देखेपछि निहुरिएर हिड्नु पर्ने दिन आउने चर्चा गर्नुभयो । उहाँले डिपिआर तयार भएको सूर्यविनायकमा निर्माण हुन लागेको प्राणी उद्यानको निर्माण कार्य छिटै सुरु हुने बताउनुभयो ।

बस्नेतले विकास र समृद्धि सबैको सरोकार भएकाले कुनै एक व्यक्ति वा समूहलाई केन्द्रित गरेर कुनै पनि अभियान सफल नहुने बताउँदै भन्नुभयो, ‘हामी विकासका हरेक गतिविधिलाई नयाँ र सिर्जनशील ढंगबाट अगाडि बढाउन चाहन्छौ । हामी राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यबद्धताका साथ अगाडि बढ्न चाहन्छौ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News