कक्षा १२ को पूरक परीक्षा भदौ २२ र २३ गते हुने


 


काठमाडौं ,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति सार्वजनिक गरेको छ । परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ । दुइटा विषयमा मात्रै ग्रेड वृद्धिका लागि विद्यार्थीले परीक्षा दिन पाउने छन् । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले दिन सक्नेछन् ।

त्यस्तै, दुई विषयमा परीक्षा दिनेहरूका लागि भने पहिलो दिन सानो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ भने दोस्रो दिन ठूलो कोड नम्बर रहेको विषयको परीक्षा हुने बोर्डले जनाएको छ । ग्रेड वृद्धिका परीक्षा दिने परीक्षार्थीहरूले विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई विद्यालयमार्फत भदौ ५ गतेसम्म फारम बुझाउनु पर्नेछ ।

त्यस्तै, विद्यार्थीहरूले प्रति विषय ६ सयको दरले भदौ २ गतेभित्रसम्म बुझाइसकेको भौचर हुनुपर्नेछ । फारमसँगै कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वेबसाइटबाट डाउनलोड गरी बुझाउनु पर्ने बार्डले जनाएको छ । ग्रेड वृद्धिका लागि परीक्षार्थीहरूले अन्य सबै विषयमा सि प्लस वा सोभन्दा माथि ग्रेड आएर बाँकी दुई विषयमा मात्र सि वा डि प्लस आएमा परीक्षा दिन पाउने छन् ।

साथै, कुनै एक वा दुई विषयमा अनुपस्थित भएकाहरूले पनि सोही दिन परीक्षा हुनेछ । परीक्षाफल रद्द भएका विद्यार्थीहरूले भने ग्रेड वृद्धि परीक्षामा समेल हुन पाउने छैनन् । शैक्षिक योग्यता प्रमाण पत्र लिइसकेकाहरूले परीक्षामा सामेल हुन पाउने छैनन् । बोर्डले हाललाई परीक्षाको केन्द्र तोकेको छैन।

प्रकाशित मिति: १९ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्