मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने मन्त्री भट्टराईको घोषणा


 


काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले केही दिन भित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गर्नु भएको छ ।

मन्त्री भट्टराईले संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गरेर अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भयो । आईतबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री भएपछि पहिलो पटक उपस्थित हुनु भएका उहाँले विमान खरिद सम्बन्धमा संसदीय समितिले विगतमा दिएका निर्देशनहरु पालना गरेर अघि बढने योजना पनि सार्वजनिक गर्नु भयो ।

उहाँले आफ्ना सबै कामकार्वाही पारदर्शी ढंगले अघि बढाउने अठोट गर्नु भयो । मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कसैप्रति पूर्वाग्रह राख्ने अवस्था आउन नदिने बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले विमान खरिद प्र्रकरणमा देखिएका सबै समस्या समाधान गरेर अघि बढ्न मन्त्री भट्टराईलाई सुझाव दिएका थिए । समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमान खरिद प्रकरणमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा त्यस्ता समस्या आउन नदिने गरी काम गर्न मन्त्री भट्टराईलाई सुझाव दिनु भयो ।

उहाँले जनताको भावनामा चोट नपुर्याउने गरी सांस्कृतिक क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले नेपाल एयरलाईन्सलाई सरकार आफैले संचालन गरेर नेपालको हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्री भट्टराईलाई आग्रह गर्नु भयो ।

समितिकै सदस्य पुष्पा भुसालले हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाएर मुलुकको पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन मन्त्री भट्टराई सफलता मिल्ने विश्वास व्यक्त गर्नु भयो ।

समितिका सदस्यहरुले मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि निर्माणाधिन विमानस्थलको निर्माणको कामलाई समयमै पूरा गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: १९ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्