सात महिनामा साढे ९ लाख पर्यटकले लुम्बिनी घुमे


 


बुटवल । बुद्धको जन्मस्थल लुम्बीनीमा घुम्न आएका पर्यटकहरु। यस वर्ष सात महिनामा बुद्ध जन्मस्थल लुम्बिनीमा साढे ९ लाख पर्यटक घुम्‍न आएका छन्।

गत ७ महिना जनवरीदेखि जुलाईसम्म मा ९ लाख ६० हजार २ सय ६० जनाले लुम्बिनी घुमेको लुम्बिनी विकास कोषले जनाएको छ।
यो अवधिमा १ सय ४ देशका पर्यटक लुम्बिनी घुम्न आएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव एवं योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईले बताए।

गत सात महिनामा तेश्रो मुलुक (राहदानीबाहक)बाट ८६ हजार ५ सय ३१ पर्यटक लुम्बिनी आए भने ७ लाख ६३ हजार ४ सय ३१ नेपालीले लुम्बिनी घुमे। यस्तै छिमेकी मुलुक भारतबाट १ लाख १० हजार २ सय ९८ पर्यटक लुम्बिनी घुम्न आएका थिए।

विदेशी पर्यटकहरूको संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ हजार ४ सय २ जना अर्थात् १६ प्रतिशतले बढी रहेको लुम्बिनी विकास कोष सूचना शाखाका नायब सुब्बा दिलिप कुलुंगले बताए। अघिल्लो वर्षको सोही अवधिमा ७४ हजार १ सय २९ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए।

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्