“मन्त्री अर्ब, पीए करोड कमाउने धन्दामा छन्, अनि कसरी आउँछ समाजवाद?”


 


काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले देश दलाल पुँजीपतिको हातमा रहेका कारण कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि कमाउधन्दामा लागेको बताएका छन् । १० वर्षमा मन्त्री अर्बपति र पीए करोडपति हुने गरेको उनको भनाइ छ ।

‘देश दलाल पुँजीपतिको हातमा छ । सबैलाई पुँजी चाहिएको छ, । देशको समृद्धि होइन, व्यक्तिको समृद्धि चाहिएको छ’, उनले भने ‘समृद्ध बन्न मन्त्रीहरुले १० वर्षमा अर्ब, पीएले करोड कमाउने गरेका छन् ।’

पार्टी र नेतृत्व दलाल पुँजीवादको चंगुलमा फेसेको उनले बताए । दलाल पुँजीवादकै कारण समाजवादमा पुग्न कठिन भएको उनले सुनाए ।

नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको ‘संघर्षको इतिहास’ पुस्तक समीक्षा गर्दै भुसालले देशको सबै क्षेत्रमा दलाल पुँजीपति हावी भएको बताए । कमाउधन्दाका कारण इमानदार कार्यकर्ताको मनोबल खस्किँदै गएको उनले बताए ।

‘२० वर्षदेखि पार्टीमा काम गरिरहेको कमरेड असुरक्षित छ । खाडीमा भेडा चराउन नसकेर फर्केको मान्छे नेताको पछि लाग्यो, मन्त्रीको पीएको पनि पीए बस्यो, १० वर्षमा करोडपति भयो’, उनले भने, ‘ अब २० औं वर्षदेखि इमानदारीपूर्वक लागेको कार्यकर्ताको मनोबल के हुन्छ ?’

समाजवादबारे थाहै नभएको र कम्युनिस्ट आन्दोलनबारे एकपटक पनि नसुनेको मान्छे पार्टीमा हावी हुँदा इमानदार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको उनले बताए ।

नेकपा नेतृत्वलाई मात्तिने र आत्तिने छुट नभएको उनले बताए । गुट उपगुट त्यागेर पार्टीलाई एकताबद्ध गर्न सके अबको १० वर्षमा देशमा समाजवादी व्यवस्थाको झल्को दिने गरी काम गर्न सकिने उनको भनाइ थियो ।

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्