संसद् सचिवालयको ब्रह्मलुट : चल्ने गाडी थन्क्याउँदै, नयाँ किन्दै


 


काठमाडौं । संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ ।

सचिवालयमा भएका गाडी थन्काएर नयाँ किन्दा राज्यलाई १२ करोड बढी रुपैयाँको व्ययभार थपिएको छ । सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आए पनि संसद् सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै महँगो मूल्यमा स्कार्पियोे गाडी खरिद गरेको हो ।

सचिवालयका अनुसार पछिल्लोपटक प्रतिगाडी झन्डै ६५ लाख मूल्य तिरिएको छ । सचिवालय परिसरमा सय बढी सवारी साधन थन्क्याएर राखिएको छ भने बर्सेनि महँगोमा गाडीहरू थप्ने क्रम जारी छ । परिसरमा राखिएका गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएको’ भन्दै प्रयोग नगरेको पाइएको छ ।

सचिवालयले चलिरहेका गाडी थन्क्याएर संसदीय समितिका सभापतिहरूलाई नयाँ गाडी किनेर दिएको हो । सभापतिहरू पनि नयाँ गाडी चढ्ने होडबाजीमा उत्रन थालेका छन् । सचिवालयका कर्मचारीका अनुसार सभापतिको नयाँ गाडी चढ्ने लालसाका कारण पुराना गाडी थन्काएर नयाँ किन्नुपर्ने बाध्यता आएको हो ।

गत वर्ष कात्तिकमा संसदीय समितिका सभापति चयन भएको दिन नयाँ गाडी माग गरेपछि संसद् सचिवालयले कात्तिकमा नै २३ वटा नयाँ गाडी किन्न अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । तर, अर्थले भने १८ वटाका लागि मात्रै रकम निकासा दिएको थियो ।

खरिद गरिएका १८ गाडीमध्ये १२ वटा स्कार्पियोे जिप गत २६ जेठमा र तीनवटा ह्याच ब्याक कार २८ जेठमा सचिवालयमा ल्याइएको छ । बाँकी तीनवटा कार पनि ३० जेठमा ल्याइएको थियो । आजको राजधानी दैनिकमा सविन शर्माले समाचार लेखेका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्