कांग्रेसले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरायो


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेस सांसदहरुले आज क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना प्रतिनिधिसभामा पेश गरेका हुन् ।

उक्त प्रस्तावको प्रस्तावकमा सांसद रङ्गमती शाही छिन् भने समर्थकमा सांसद बालकृष्ण खाँण, डिला संग्रौला पन्त र प्रकाश रसाइली स्नेही छन् । नेपालको हिमाली तथा पहाडी भू–भाग जडीबुटी भण्डारका रुपमा रहेको छ ।

यस भेगमा नेपाली नागरिकको ठूलो संख्याले जडीबुटी सङ्कलन, उत्पादन, भण्डारण, बिक्री वितरणमा प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडीबुटी पर्छ ।

नेपालमा उत्पादित र संकलित सबै जडीबुटीको प्रशोधनको प्रबन्ध नेपालमै हुन नसकेको र क्वारेन्टाइनसम्बन्धी व्यवस्था पनि नहुँदा निकासी भइरहेको जडीबुटीमा अवरोध उत्पन्न हुनाका साथै सङ्कलित जडीबुटी खेर जाने, नोक्सान हुने तथा यस क्षेत्रका हजारौं नेपालीको रोजगारीमा समेत असर परेको प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति: २२ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्