प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपण ?


 


काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले स्वास्थ्य उपचारका लागि सिंगापुरमा छन्। उनी नियमित स्वास्थ्य परीक्षणका लागि साउन ७ गते राति सिंगापुर प्रस्थान गरेका हुन्। मुख्यतः स्वास्थ्य परीक्षणमा केन्द्रित रहने प्रधानमन्त्रीको भ्रमण एक हप्ताको रहने छ। प्रधानमन्त्री ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटल (एनयुएच)मा स्वास्थ्य परीक्षण गराउँदै छन्।

प्रधानमन्त्री ओलीले गरेको मिर्गौला प्रत्यारोपणपछिको नियमित स्वास्थ्य परीक्षणकै श्रृंखलाको रूपमा यो परीक्षणलाई पनि लिइएको छ। यसअघि उनले १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए। उनलाई भाइ बुहारी अन्‍जनाले मिर्गौला दान दिएपछि उनले नयाँ जीवन पाएका थिए।

मिर्गौला प्रत्यारोपण गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। सिंगापुर जानुअघि उनको सैनिक अस्पताल छाउनीमा ल्याव परीक्षणसहित युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो।

चिकित्सकहरूका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा एउटा सुइको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकाले त्यसको परीक्षण गरिन्छ। कहिलेकाहिँ यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ। धेरै लामो समय भएपछि पनि त्यसको कार्यप्रणाली कस्तो छ भनेर बुझ्नका लागि बायोप्सी गरिने चिकित्सकहरूले बताएका छन्। उक्त परीक्षणपछि थप फलोअपका चिकित्सकहरूले सिंगापुर जान सुझाएका थिए।

यसअघि उनी नियमित फलोअपका लागि थाइल्यान्ड जानेगरेका थिए। प्रधानमन्त्रीको शपथ ग्रहणअघि पनि उनी बैंककको ब्रुमरुग्रान्ड इन्टरनेश्नल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। पछिलोपटक भने केही आफ्ना विश्वास पात्रका साथ एक साता लामो सिंगापुर गराउन पुगेका छन्।

उनी त्यहाँ बस्दा मिर्गौला पुनः प्रत्यारोपण गर्न सकिने सम्भावना के कति रहेको छ भन्ने सम्बन्धसमेत सल्लाह गर्ने बुझिएको छ। मिर्गौला ‘रि–ट्रान्सप्लान्ट’ सफल भएका उदाहरणहरू विश्वमा धेरै रहेका छन्। नेपालमा पनि व्यापारी शशिकान्त अग्रवालका पिता शिव कुमार अग्रवालको मिर्गौला पुनः प्रत्यारोपण गरिएको थियो। मिर्गौला पुनः प्रत्यारोपणपछि उनी २३ वर्ष बाँचेका थिए।

प्रधानमन्त्री ओली मिर्गौला पुनः प्रत्यारोपण गर्न सकिने विषयमा नेपालमा परामर्श लिएको बुझिएको छ। सो सम्बन्धमा सिंगापुर बसाइँका क्रममा विस्तृत परामर्श गर्ने स्रोतको भनाइ छ। यसको संयोजन नेपाल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्धिन अन्सारीले गरिरहेको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीका साथमा पत्नी राधिका, राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह सिंगापुर गएका हुन्।

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्