काँग्रेस नेता जोशीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाई


 


काठमाडौं, साउन २३

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्ध भ्रष्टाचारको मुद्दामाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको इजलासमा जोशीविरुद्ध परेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोु मुद्दामा सुनबाइ भइरहेको छ ।

उनको यो निकै लामो मुद्दा हो। विशेष अदालतले दोषी ठहर गरेको मुद्दा ६ वर्ष यता सर्वोच्च अदालतमा छ । जोशीको यो मुद्दा ६ वर्षको अवधिमा ३२ पटक सुनुवाइका लागि पेश भएको थियो । कहिले हेर्न नमिल्ने, कहिले हेर्न नभ्याइने, भन्दै लम्बिनेक्रम लामै समय चल्यो ।

२०७० कार्तिक १२ गते दामोदरप्रसाद शर्मा र डा. भरतबहादुर कार्कीले झगडीया झिकाउन आदेश दिएपछि मुद्दा प्राथमिकतामा नै परेन । बल्लतल्ल २०७१ भदौ २९ गते सर्वोच्चले आदेश दियो तर आदेशले मुद्दाको प्राविधिक पक्षमै प्रश्न उठायो। मुद्दा प्रक्रियागत शून्यमा झर्‍यो ।

अदालतले जोशीको मुद्दा चलाएको निर्णय, अनुसन्धान अधिकृत तोकेको फाइल र टिप्पणी समेत उपलब्ध गराउन आदेश गरेको थियो । तत्कालीन न्यायाधीशद्वय गोपाल पराजुली र दीपकराज जोशीको संयुक्त इजलासले फाइल मगाउने आदेश जारी गरेको थियो। त्यतिखेर प्रधानन्यायाधीश थिए दामोदरप्रसाद शर्मा ।

करिब पाँच वर्षको यस अवधिमा ६ जना प्रधानन्यायाधीश फेरिए तर मुद्दा पक्ष–विपक्षबाट स्थगित हुने नियत फेरिएन । आदेश भयो त एकमात्र –पुनः कागज मगाउने ।

त्यसयता, तीन वर्षसम्म मुद्दा फाइलकै वरिपरि घुम्यो । तर, जेठ २३ गते भएको सर्वोच्चको मिसिल खोज्ने आदेशले त्यो नियमितता तोड्यो । मिसिल नपठाए अख्तियारका सचिवलाई अदालतको अपहेलना र जरिवाना गरिने आदेश सर्वोच्चले गर्‍यो ।

अदालतले मुद्दाको मिसिल १५ दिनभित्र अदालतमा उपलब्ध गराउन आदेश दियो। जेठ २३ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले १५ दिनभित्र फाइल उपलब्ध गराउन आदेश दिएको थियो ।

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्