“सित्तैमा गाई लैजानुस्, मज्जाले दूध खानुहोस्”


 


नेपालगञ्ज । कसैलाई गाई–गोरु चाहिएको छ भर्खरै ब्याएका, ब्याउने अवस्थामा रहेका गाई लिने हो भने नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा सम्पर्क राख्नुस् है ! नेपालगञ्ज उपमहानगरपालिकाले गाईगोरु सित्तैमा दिने भएको छ।

नेपालगञ्जमा छाडा पशु व्यवस्थापन चुनौती बन्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कान्जीहाउसमा रहेका गाईगोरु सित्तैमा दिने भएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कान्जीहाउसमा दुहुनो र ब्याउने अवस्थाका गाई प्रशस्तै रहेका छन्। ‘गाई पाल्ने कोही हुनुहुन्छ भने आउनुस्, हामी सित्तैमा दिन्छौँ, छाडा पशु व्यवस्थापनको चुनौतीसँग जुधिरहेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले भने, ‘सित्तैमा गाई लैजानुस्, मज्जाले दूध खानुस्।’

नेपालगञ्जमा दिन प्रतिदिन छाडा पशुको संख्या बढ्दै गएपछि महानगरमा चुनौती थपिएको थियो। नेपालगञ्ज–२१ बिर्तामा एउटा कान्जीहाउस सञ्चालनमा ल्याइएको छ। डेढरदुई सय क्षमताको कान्जीहाउसमा तीन सय ९३ वटा पशु रहेका छन्।

नेपालगञ्जका सडकमा अझै त्यो भन्दा बढी छाडा पशु रहेका छन्। कान्जीहाउसमा खान नपाएर गाई मरिरहेको भन्दै एकथरीले मेयर राणाको चर्को आलोचना गरिरहेका छन्। आर्य समाज र नेपालगञ्ज ग्यालरीको टीमले केही हप्तादेखि कान्जीहाउसमा घाँस पुर्‍याइरहेका छन्।

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्