सरकारी जग्गामा तीन तले भवन बनाएर ‘व्यापार’ गर्दै कांग्रेस


 


काठमाडौं, साउन २३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी जग्गा भवन बनाएर ‘व्यापार’ गरीरहेको तथ्य भेटिएको छ । आफ्नो भातृ संगठन नेपाल शिक्षक संघको नाममा कांग्रेसले सरकारी जग्गामा तीन तले भवन बनाएर २१ वर्षअघिदेखि भाडा उठाउँदै आएको हो ।

काठमाडौ महानगरपालिका–४ धूम्बारहीमा रहेको कित्ता नं. ८० को २ रोपनी १५ आना जग्गामा कांग्रेसले गत २१ वर्षअघिदेखी भवन निर्माण गरेर भाडामा लगाएको हो । हाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय रहेको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानसँगै रहेको २ रोपनी १५ आना जग्गामा शिक्षक संघ नेपालको नाममा भवन छ ।

यो भवनकाे दोस्रो तलमा ‘हेभी इक्युमेन्ट’ बिक्री वितरण गर्ने नीजि कम्पनी ‘एक्सन कन्स्ट्रक्सन इक्युमेन्ट’ लिमिटेड भाडा तिरेर अफिस राखेको छ । यसअघि पनि यो भवनमा बिभिन्न नीजि कम्पनीहरुले भाडामा प्रयोग गरेका थिए । पहिलो तलमा भने सर्बसाधरणहरुलाई भाडामा दिइएको छ । संघले कर्मचारीहरु राखेको दाबी गरेपनि त्यहाँ भाडा तिरेर बसिरहेको स्रोतले बतायो । तेश्रो तलमा भने शिक्षक संघको कार्यालय राखिएको छ ।

मनमोहनले प्रतिष्ठानलाई दिएको जग्गा कसरी भयो कांग्रेसको ?

प्रतिष्ठान स्थापनाका लागि २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले धूम्बाराहीको सरकारी जग्गा उपलब्ध गराएको थियो । प्रतिष्ठानको अध्यक्ष सभामुख तथा कांग्रेसका नेता दमनाथ ढुङ्गाना भएपछि त्यही मध्येको करिब आधा जग्गा भने उनले कांग्रेसलाई भोगचलन गर्ने गरी ‘मिलाएर’ दिएका थिए ।

हाल पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको नाममा भने ३ रोपनी ७ आना २ पैसा रहेको छ । बाँकी जग्गा ढुङ्गानाले २०५५ सालमा कांग्रेसलाई भोगचलन गर्ने गरी जग्गा दिएका हुन् । पार्टीको नाममा सरकारी जग्गा भोगचलन गर्न अप्ठ्यारो भएपछि कांग्रेसले सजिलोका लागि आफ्नो शिक्षक संघको नाममा राखेर भोगचलन गर्दै आएको हो ।

शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेलले भने सो जग्गा शिक्षक संघकै निम्ती सरकारले उपलब्ध गराएको दाबी गरे । उनले भने,‘यो शिक्षक संघकै प्रयोजनको निम्ती दिइएको हो ।’ तर, स्रोतका अनुसार प्रतिष्ठानमा ल्याएको जग्गापछि ढुङ्गानाले मिलाएर कांग्रेसलाई उपलब्ध गराएका हुन् । कांग्रेसकै एक नेताले भने,‘पार्टीको नाममा अप्ठ्यारो भएर शिक्षक संघलाई प्रयोग गर्न दिएका हौं । त्यसको निश्चित रकम पार्टीलाई उपलब्ध हुन्छ ।’

‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१’ अनुसार भोगाधिकार प्राप्त संस्थाले तेस्रो पक्षलाई सरकारी जग्गा दिन नहुने नहुने प्राबधान छ । शिक्षक संघले पनि त्यस बिपरित तेश्रो पक्षलाई दिएर भाडा अशुल्दै आएको छ ।

कांग्रेसले विहिबार पत्रकार सम्मेलन गरेर पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको सरकारी जग्गामा नेकपाले कार्यालय राखेका भन्दै नैतिकतालाई नीति, नियम र नैतिकतालाई थप लज्जित बनाएको आरोप लगाएको छ । तर, त्यो सँगै रहेको जग्गाको बारेमा भने उसले केही भनेको छैन । सँगै जोडिएको जग्गाको बारेमा नबोली उसले भनेको छ, ‘सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ ।’ साभार नयाँ पेजबाट

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्