गोरेको गृह जिल्लामा फेरि करोडौंको अर्को “सुन काण्ड”


 


काठमाडौं । मोरङक उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे)को सुन काण्ड सेलाउन नपाउँदै मोरङकै बेलाबारीका एक सुन व्यापारी स्थानीयको करोडौं मूल्यको सुन ठगेर वेपत्ता भएका छन् ।

लामो समयदेखि बेलबारीमा सुनको कारोबार गर्दै आएका व्यापारी एकाएक गायव भएपछि अहिले स्थानीय सुनधनीहरुको रुवाबासी मच्चिएको छ । बेलबारी–१ सिनेमा हल लाइनमा ऊँ कृष्ण सुनचाँदी पसल चलाउँदै आएका घनश्याम श्रेष्ठ सर्बसाधारणको १५ करोड बढी रकम बराबरको सुन ठगी गरी बेपत्ता भएका हुन् ।

ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित ब्यक्तिदेखि सर्बसाधारणसम्म छन् । ब्याजको प्रलोभनमा परी श्रेष्ठलाई पैसा दिएका दुई सय बढी सर्बसाधारण ठगीमा परेको स्थानीय बताउँछन् । ठगीमा पर्नेको संख्या दैनिक थपिंदै गइरहेको छ ।

श्रेष्ठकोमा पैसा राख्दा आकर्षक ब्याज पाइने प्रलोभनमा आफूहरुले रुपैंयाँ राखेको पीडितहरु बताउँछन् । केही महिनायता श्रेष्ठ सम्पर्कबिहीन भएपछि सर्बसाधारणहरुले आफूहरु ठगीमा परेको थाहा पाएका थिए ।

श्रेष्ठलाई सम्पर्कमा ल्याई आफ्नो पैसा फिर्ता गर्न माग गर्दै केही ब्यबसायीहरुले प्रस्तावित उद्योग बाणिज्य संघ बेलबारीमा केही महिनाअघि निबेदन समेत दिएका थिए । त्यसपछि श्रेष्ठलाई सम्पर्क गरी छलफलमा बोलाइएको भए पनि पटक–पटक आउँछु भन्ने तर नआउने गरेको र पछिल्लो समय उनी बेपत्ता भएको संघका उपाध्यक्ष केदार अधिकारीले बताएका छन् ।

केही दिनअघि दुई सय बढी स्थानीयले बेलबारी नगरपालिकामा पुगी उपमेयर ढाकाकुमारी पराजुली समक्ष निबेदन समेत दिएका थिए । लेनदेन कारोबारको मुद्धा नगरपालिकाले हेर्न नमिल्ने भएपछि उनी निबेदन दर्ता नगरेको तर, स्थानीय समस्या भएका कारण श्रेष्ठलाई सम्पर्क गर्ने कोशिस गरिए पनि उनी सम्पर्कमा नआएको र जिल्ला प्रशासन कार्यलय जान् आफुले सुझाएको पराजुलीले बताएकी छिन । श्रेष्ठबाट ठगिएका २ सय जनाभन्दा बढीको नाम र ठगिएको रकम सहितको बिवरण प्राप्त भएको छ । बिवरणमा २० लाख सम्म ठगिएको उल्लेख छ ।

कतिपय पीडितहरुले आफनो नाम र रकम सार्बजनिक नगरी दिन अनुरोध गरेपछि हामीले नाम र ठगिएको रकम सार्बजनिक गरेका छैनौं । श्रेष्ठले एनएमबी बैंकलगायतका बैंकबाट समेत करोडौं रुपैयाँ लिएर नतिरेको पाइएको छ । ठगिएका केही ब्यक्तिहरुलाई म्यासेन्जरमा फोन गरी श्रेष्ठले आफूले रकम लिएको कुरा पत्रकार र अरुलाई नभन्नु भनेमा पैसा डुब्ने भन्दै भन्ने गरेको पीडितहरु बताउँछन ।

प्रकाशित मिति: २४ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्