किन नेपाल आउँदैछन् भारतीय विदेशमन्त्री जयशंकर ?


 


काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । उनी भदौ ४ गते विहान एयर इण्डियाबाट नेपाल आउन लागेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

भदौ ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिनेछन् । त्यसपछि विदेशमन्त्रीले उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालस्थित भारतीय दुतावासले सोहीदिन रात्री भोज दिनेछ । जसमा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतालाई बोलाएको छ । त्यहाँ सामूहिक तथा एक्लाएक्लै भेटघाट हुने बताइएको छ । उनी भदौ ५ गते विहानै भारत फर्किने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

एस जयशंकर विदेशमन्त्री भएलगत्तै नेपाल भ्रमणमा आउने कार्यक्रम भएपनि नेपालमा तरकारीमा विषादी परीक्षण, आइफा अवार्ड र क्लिन फिडलगायतको विवाद चलिरहेको कारण कार्यक्रम रद्ध गरेको थियो ।

भारतीय रअ का प्रमुख सामन्त गोयल नेपाल आएर फर्केपछि भारतका लागि नेपाली राजदूत निलम्बन आचार्यले विदेश मन्त्री जयशंकरलाई भेटेका थिए । राजदूत आचार्यले भेटेपछि विदेशमन्त्री जयशंकरको नेपाल आउने तय भएको हो ।

संविधान निर्माणको बेला विदेश सचिवको रुपमा नेपाल आएर एस जयशंकरले शीर्षस्थ नेतालाई भेटेर संविधान निर्माण कार्य केही दिनलाई स्थगित गरी सबैको सहमतिमा निर्माण गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: २५ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्