गाउँपालिकाको गाडीमा आगो लगाउने विप्लव समूह


 


तुलसीपुर । बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गर्ने प्रतिवन्धित विप्पलव समूह भएको प्रहरीले दाबी गरेको छ । दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले विप्लव समूहका विरुद्ध विध्वंसात्मक तथा आगजनी सम्बन्धी मुद्दा चलाउने बताए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दाङमा सरकारी गाडीमा आगो लगाएको यो पहिलो घटना हो ।

विध्वंसात्मक कार्यमा लाग्नु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई घाटा हुने भन्दै प्रहरी प्रमुख पाण्डेले अब पक्राउ पर्ने नेता कार्यकर्तालाई नछोड्ने बताए । ‘यसअघि सामान्य मुद्दा लगाएर छोडेका थियौं,’ प्रहरी प्रमुख पाण्डेले भने– अब पक्राउ परेका विप्लव समूहका कार्यकर्तालाई विभिन्न मुद्दा लगाएर राखिन्छ ।’

घटना स्थल पुगेर फर्किएका प्रहरी प्रमुख पाण्डेले विप्लव समूहको खोजी कार्य तिब्र पारिएको जनाएका छन् । बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्वरको सरकारी गाडीमा गएराति आगजनी गरिएको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्