धनगढीमा छिमेकीको कुटाइबाट ४० दिनदेखि बेहाेस : न उपचार न न्याय


 


धनगढी- जग्गाको साँधका विषयमा विवाद हुँदा छिमेकीबाट कुटिएकी एक महिला ४० दिनदेखि बेहोस छिन्।

कैलालीको लम्की चुहा नगरपालिका–८ गप्काकी २५ वर्षीया रामजानकी चौधरीलाई जग्गाको साँध मिचेको आरोपमा छिमेकी यमबहादुर चौधरीको परिवारले गएको असार १७ गते कुटपिट गरेको थियो।

उपचार गर्न पैसा नभएर लामो समयसम्म घरमै राखिएकी रामजानकीलाई गाउँका केही मानिसले आइतबार धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुर्याएका छन्।

यमबहादुर, उनकी आमा राजदेवी र दिदी लक्ष्मीले बेहोस हुने गरी कुटेको रामजानकीका पति तीर्थ चौधरीले बताए। यमबहादुरको परिवार जमिनदार हो भने तीर्थको परिवार साढे दुई कट्ठा ऐलानीमा बसिरहेको छ।

आफू प्रहरीमा पटकपटक गए पनि न्याय नपाएको तीर्थले बताए। लम्की इलाका प्रहरीका प्रहरी नायब निरीक्षक जनक सिंहले रामजानकीको बाहिरी घाउ नदेखिएकाले मुद्दा चलाउन नसकिएको बताए।

गाउँको शक्तिशाली परिवार भएकाले सबैलाई प्रभावमा पारेर रामजानकीप्रति अन्याय गरेको आरोप स्थानीयले लगाएका छन्।

यमले रामजानकीलाई कुटपिट नगरेको तर सामान्य धकेल्दा पनि बेहोसको बाहाना गरिरहेको बताए।

बाहिरी देखिने चोट नभए पनि भित्र गम्भीर चोट लागेको हुनसक्ने छिमेकी मनमाया तामाङले सुनाइन्। मनमाया र स्थानीय टेक देउवाको पहलमा उनलाई धनगढी ल्याइएको हो।

रामजानकीको न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको छ।

प्रकाशित मिति: २६ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्