“गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभित्रै निर्माण हुन्छ”


 


काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी पाहुना (विदेशी उच्च अधिकारी) को सहभागिता रहेको छ । सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ पदाधिकारीहरुलगायत एशिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्थाको प्रतिनिधित्व छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हवाई क्षेत्रको सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास र क्षमता अभिवृद्धिका लागि आगामी रणनीति तय गर्न सम्मेलन उपयोगी हुने बताए ।

उनले विश्वकै संवेदनशील हवाई क्षेत्रको बृहत्तर विकास, सो क्षेत्रमा आएका आधुनिक प्रविधि र नव प्रवर्तनका विश्वव्यापी आयामलाई आत्मसात गरेर गुणस्तरीय हवाई सेवा अभिवृद्धि गर्नेतर्फ सामूहिक प्रयासको खाँचो औंल्याए ।

प्रधानमन्त्री ओलीले नेपालजस्तो हिमाल, पहाड र तराईको भौगोलिक संयोगयुक्त मुलुकका लागि सम्पर्क सञ्जाल विस्तार अति अपरिहार्य विषय भएको उल्लेख गर्दै भू–धरातलीय विशिष्टता, मौसमी अवस्था आदि संवेदनशीलतालाई समेत मध्यनगर गर्दै हवाई सुरक्षा, सेवा गुणस्तर र दीर्घकालीन सुधारका सामूहिक कार्यक्रम तयार गरिनुपर्नेमा जोड दिए ।

सांस्कृतिक सम्पदा, विविध जाति, भाषा र संस्कृति, प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, विश्व प्रसिद्ध संरक्षित वन्यजन्तु तथा जडीबुटीको अपार संभावनायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उहाँले पर्यटकीय गतिविधि बढाउन र आर्थिक समृद्धिको यात्रालाई सहयोग पु¥याउन हवाई क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखे ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भौगोलिक रूपमा मात्र नभई विविध क्षेत्रमा विविधतायुक्त मुलुक हो, विश्वकै आकर्षण मध्येको एकसिंगे गैँडा नेपालमा मात्र पाइन्छ, विश्वको सार्वोच्च शिखर सगरमाथा नेपालमै छ, हामीसँग अनगिन्ती प्राकृतिक उपहार छन्, विश्वकै सुन्दरताको धनी नेपाललाई यस्तै विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ ।’

मुलुकको हवाई संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नीतिगत सुधार, पूर्वाधार विकास, उच्चतम प्रविधिको प्रयोग र सेवा स्तरीकरणलाई विशेष प्राथमिकताकासाथ अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।

उनले नेपालले आर्थिक उन्नति र विकासको यात्रा शुरु गरेको र यसमा अन्तर्राष्ट्रिय जगतसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे । पछिल्लो समय नेपालको हवाई क्षेत्र प्रगति उन्मुख रहेको तथा आर्थिक सुरक्षाका क्षेत्रमा क्रमिक सुधार भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले हवाई क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सबै मुलुकको परस्परिक सहयोग अपरिहार्य भएको उल्लेख गरे ।

उनले हवाई क्षेत्रको सुरक्षा, दक्ष जनशक्ति विकास तथा पूर्वाधारका रूपमा निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्धारित समयभित्रै निर्माण सम्पन्न गरी शीघ्र सञ्चालनमा ल्याइने प्रतिवद्धता व्यक्त गरे ।

आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन गरिएको हो । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । यसअघि नेपालम सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो ।

यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो । उक्त झण्डा पर्यटनमन्त्री भट्टराईले आजै आइकाओ काउन्सिल अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

नेपालको उड्डयन क्षेत्रमा विभिन्न किसिमका टिप्पणी भइरहेको सन्दर्भमा उच्च तहका विदेशी अधिकारीको ठूलो जमघट हुने सम्मेलनले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

एशिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा)लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्