दुई घण्टासम्म निर्घात कुटपिट, भिडियो बाहिरिएपछि फरार


 


विराटनगर, भदौ २

मोरङको बूढीगंगा गाउँपालिका–४ पोठियाका १७ वर्षीय एक किशोरलाई गाउँकै युवाहरुले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको दर्दनाक घटना र त्यसको भिडियो सार्वजनिक भएको छ ।

मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ । नउसादमाथि बूढीगंगा–४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको प्रहरीको भनाइ छ । घटनाको भिडियो पनि बाहिरिएको छ ।

घटनामा संलग्न मध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट गरेको प्रहरीको भनाइ छ । वडा अध्यक्षका छोराले बोलाएका छन् भन्दै गत बिहीबार साँझ ५ बजे घरैबाट एक किलोमिटर जति परको खुल्ला चउरमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताउनु भयो । उहाँले अफजलले घरमै आएर छोरालाई बोलाएर लगेको जानकारी दिनु भयो । घटनाको भिडियोमा पनि तीन जनाले कुटपिट गरेको प्रष्ट देखिन्छ ।

अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा हिजो साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताउनु भयो । ‘घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिएका रहेछन्,’ उहाँले भन्नु भयो, ‘त्यही धम्कीपछिको डरका कारण चार दिनसम्म घटनाका बारेमा उस (छोरो) ले परिवारमा सुनाएन ।’ इलाका प्रहरी कार्यालय नेमुवाका सई जीवनकुमार गौतमले प्रहरीले पनि घटनाका बारेमा ढिलो गरेर जानकारी पाएको बताउनु भयो । गौतमले घाइतेको विराट नर्सिङ होममा उपचार सुरु गरेर घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिनु भयो । प्रहरीका अनुसार एक साता अघि गाउँकै अजय रायको मोबाइल चोरी भएको थियो ।

त्यही मोबाइल चोरी गरेको आरोप लगाउँदै अपहरण शैलीमा नियन्त्रणमा लिएर चार जना युवाले नउसादमाथि निर्घात कुटपिट गर्दै त्यसको भिडियोसमेत बनाएको गौतमले बताउनु भयो । उनले मोबाइल कसले चोरी गरेको हो भन्ने बारेमा भने खुलिनसकेको जानकारी दिनु भयो । नउसादका बुवा अलिमले पनि मोबाइल चोरीमा छोराको संलग्नता नरहेको र दैनिक राजमिस्त्रीको काम गर्ने गरेको बताउनु भयो । पीडित किशोरका परिवारले आज चारै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले घटनामा संलग्न चारै जना फरार रहेका कारण खोजी भइरहेको बताउनु भयो । ‘यदी कोही व्यक्तिलाई कुनै घटनामा संलग्न भनेर आरोप लागेमा त्यसमा छानबिन र अनुसन्धान गर्ने काम प्रहरीको हो,’ उहाँले भन्नु भयो, ‘तर नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्दै कानुन हातमा लिने काम भएको रहेछ ।’ नियन्त्रणमा लिएपछि चारै जनालाई कानुन अनुसार कारबाही अघि बढाइने खिँउजुको भनाइ छ ।

प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्