रवि लामिछाने छुट्ने भन्दै समर्थकले किनेका माला काम नलागेपछि…


 


,काठमाडौं ३ भदौ– चितवन जिल्ला अदालतले माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानसहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ ।

चितवन प्रहरीको मागअनुसार अदालतले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप पाँच दिन थुनेर अनुसन्धान गर्न मंगलबार आदेश दिएको हो । प्रहरीले १० दिन थुनामा राख्न अनुमति मागेको थियो । यसअघि शुक्रबार पहिलोपटक अदालतले उनीहरुलाई पाँच दिन थुनेर अनुसन्धान गर्न अनुमति दिएको थियो । २० साउनमा नारायणगढको एक होटलमा आत्महत्या गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् ।

भिडियो सार्वजनिक भएलगत्तै प्रहरीले उनीहरुलाई काठमाण्डुबाट पक्राउ गरी चितवन लगेको थियो । लामिछानेका केही समर्थकले घटना छानबिन नगर्न दबाब दिँदै दिनहुँजसो भरतपुर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । त्यस क्रममा उनीहरुले प्रहरी कार्यालयमा आक्रमणसमेत गरेका थिए । रवि समर्थकले मंगलबार उनी रिहा हुने भन्दै विजय जुलुसको तयारी गरेका थिए । समर्थकले सामाजिक सञ्जालमार्फत बिहानैदेखि रविलाई म्याद थप गर्न अदालत राजी नहुने दाबी गरेका थिए । उनीहरुले रविका फूलका मालासमेत अर्डर गरिसकेका थिए । तर, अदालले प्रहरीको मागअनुसार म्याद थप गरेपछि उनीहरु आक्रोशित भएका छन् ।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्