प्रज्ञामा चिनियाँ साहित्य चर्चा


 


काठमाडौं, असार १५

नेपाल र चीनबिच प्राज्ञिक आदान–प्रदान सम्झौताअन्तर्गत पाँच दिने नेपाल भ्रमणमा आएका चिनियाँ लेखक र नेपाली लेखकहरुबीच राजधानीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘नेपाली र चिनियाँ लेखकहरुबीच अन्तर्क्रिया’ कार्यक्रममा बोल्दै प्रतिष्ठानका पाहुना चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार–समालोचक एवम् टोली नेता फङ स्ये मिङले ‘समकालीन चिनियाँ साहित्यमा भ्रष्टाचारविरोधी स्वर प्रखर रुपमा आइरहेको’ बताए ।

उनले भने, ‘यसका साथै मानवता, संस्कृति, समृद्धि, सूचना र प्रविधिजस्ता विषयले पनि समकालीन चिनियाँ साहित्यलाई गहिरो प्रभाव पारिरहेको छ ।’समकालीन नेपाली साहित्यिक लेखनका प्रवृत्तिबारे प्राज्ञ डा. अमर गिरीले प्रकाश पारे । उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुक भएको हुनाले यहाँको साहित्य लेखनमा पनि त्यसैको प्रतिबिम्ब पाइन्छ ।

यसैगरी संघीयता, समानता र पहिचानजस्ता मुद्दाहरुमा समकालीन नेपाली साहित्य लेखन केन्द्रित बनिरहेको छ ।’ पूर्व कुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले नेपाल–चीनबीच सदियौँ पुरानो धार्मिक एवं सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै चीन भाषा, साहित्य एवं संस्कृतिको समृद्धिमा उदार भएर आउनु पर्ने बताए ।

प्रतिष्ठानका उपकुलपति एवं सभाका अध्यक्ष डा. विष्णुविभु घिमिरेले नेपालको प्राज्ञिक र मैत्रीपूर्ण भ्रमणका लागि चिनियाँ पाहुनाहरुप्रति आभार प्रकट गर्दै नेपाल–चीनबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । चिनियाँ लेखकहरुलाई सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले प्रतिष्ठानका प्रकाशनहरु उपहार दिएका थिए ।

फङ स्ये मिङको नेतृत्वमा आएको लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित पाँच सदस्यीय लेखक टोलीले बुद्ध जन्मस्थल लुम्बिनी, ऐतिहासिक नगर भक्तपुर र काठमाडांैका विश्वसम्पदा स्थलहरुको भ्रमण गरेको थियो । टोली बुधबार चीन फर्किदैछ ।

प्रकाशित मिति: १५ असार २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्